Sunday, April 26, 2026
Homeशिक्षाविद्यार्थी अभावका कारण बेनी नगरपालिकाका दुई विद्यालय बन्द

विद्यार्थी अभावका कारण बेनी नगरपालिकाका दुई विद्यालय बन्द

म्याग्दी: विद्यार्थीको अभावका कारण म्याग्दीको बेनी नगरपालिकाका दुई सामुदायिक विद्यालय बन्द भएका छन्। बन्द हुनेमा बेनी–५ स्थित जगन्नाथ आधारभूत विद्यालय र वडा नं १० स्थित ओखले आधारभूत विद्यालय रहेका छन्।

नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालका अनुसार नयाँ शैक्षिक सत्रमा एकजना पनि विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गर्नुपरेको हो। “गत शैक्षिक सत्रमा पनि विद्यार्थी संख्या न्यून भएकाले कक्षा १ देखि ३ सम्म घटाएर बालकक्षा मात्रै सञ्चालन गरिएको थियो,” ढकालले जानकारी दिनुभयो, “तर यस वर्ष बालकक्षाका लागि समेत विद्यार्थी नआएपछि विद्यालय बन्द गर्नु परेको हो।”

गत वर्ष ओखले विद्यालयमा पाँच र जगन्नाथमा तीन जना मात्र विद्यार्थी थिए। ती विद्यालयका बालविकास सहयोगीलाई क्रमशः दिपक माध्यमिक विद्यालय र डिम्ब आधारभूत विद्यालयमा समायोजन गरिएको छ।

सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय र कम्प्युटरसहितका पूर्वाधारहरू भए पनि तीव्र बसाइँसराइका कारण ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दो क्रममा छ।

नगर प्रमुख सुरत केसीका अनुसार शैक्षिक सत्र २०७९ मा ११ वटा र २०८० मा सात वटा विद्यालयमा तह समायोजन (कक्षा घटुवा) गरिएको थियो। “कक्षा सञ्चालनका लागि आवश्यक न्यूनतम विद्यार्थी संख्या नपुगेपछि यस्तो निर्णय गर्नुपरेको हो,” उहाँले भन्नुभयो।

पछिल्लो समय निजी विद्यालयतर्फको आकर्षण, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास घट्नु, अङ्ग्रेजी माध्यममा पठनपाठनको अभाव, र विषयगत शिक्षकको अभाव जस्ता कारणले सामुदायिक विद्यालयहरू थप सङ्कटमा पर्न थालेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका