काठमाडौँ: कोरोनाभाइरसको नयाँ भेरिएन्टबाट संक्रमित भइ कोही सिकिस्त भएमा अघिल्लो पटक भन्दा उपचार गर्न झन् कठिन हुने र मृत्युदर पनि बढ्नसक्ने खतरा विज्ञले औँल्याएका छन् ।
जनस्वास्थ्य विज्ञ डा अनुप सुवेदीका अनुसार अघिल्लो पटक अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएकाले स्वास्थ्य केन्द्रहरुमा खतरनाक ब्याक्टेरिया व्यापक रुपमा फैलिएका छन् । जसले गर्दा कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको डा सुवेदी बताउँछन् ।
डा सुवेदीले भनेका छन् ‘पहिलेको उभार (अवैज्ञानिक) लामो लकडाउनको केही महिनापछि मात्र आएको थियो। एउटा अप्रत्यक्ष फाइदा के भएको थियो भने हावाको प्रदूषण एकदम न्यून भएको थियो, जसले गर्दा दम र फोक्सोका अन्य दीर्घरोगी र अरूको पनि स्वास्थ्यमा धेरै सुधार भएको थियो। त्यसैले अघिल्लो उभारमा धेरैलाई कोभिड लाग्दा अरुबेलाभन्दा फोक्सो स्वस्थ अवस्थामा रहेको बेला लागेको थियो, र त्यसले रोग थेग्न अपेक्षाकृत सजिलो भएको थियो होला। अहिले स्थिति उल्टो छ। ऐतिहासिक वायु प्रदूषणले सबैको श्वासप्रश्वास प्रणालीको स्वास्थ्य बिग्रेको छ । अस्पतालमा श्वासप्रश्वासका समस्या लिएर आउनेको चाप निकै बढेको छ। श्वासप्रश्वासप्रणाली अस्वस्थ भएको बेला कोभिड पनि लागे दोहोरो समस्याको मार पर्ने देखिन्छ ।’
उनले कोभिड र प्रदूषणबाट पनि बच्न सर्जिकल मास्क नभएर एन-९५ मास्क नै लगाउनुपर्ने सुझाव दिएका छन् ।
अन्नपूर्णबाट साभार