Wednesday, September 16, 2026
Homeअन्तराष्ट्रियवार्षिक १ लाख ७३ हजार डलरको जागिर छाडेर लेखन र कन्टेन्टमा लागिन्...

वार्षिक १ लाख ७३ हजार डलरको जागिर छाडेर लेखन र कन्टेन्टमा लागिन् डिजाइनर

काठमाडौं । वार्षिक १ लाख ७३ हजार अमेरिकी डलर कमाइ हुने स्थिर टेक जागिर, बिहान ९ देखि साँझ ५ बजेसम्मको नियमित कार्यतालिका र राम्रो कार्य–जीवन सन्तुलन हुँदाहुँदै एक प्रडक्ट डिजाइनरले जागिर छाडेर आफ्नै करिअरमा केन्द्रित हुने निर्णय गरेकी छन्।

हेइगी जोङले पुस्तक प्रकाशनको सम्झौता गरेपछि तथा कन्टेन्ट क्रिएटरका रूपमा करिअर अघि बढाउने क्रममा जुन २०२६ मा आफ्नो टेक जागिर छाडेकी हुन्। स्थिर आम्दानी छाडेर आफैँका लागि काम गर्दा कस्तो हुन्छ भन्ने अनुभव गर्न उनले आफूलाई एक वर्षको समय दिएकी छन्।

“म थाकेकी थिइनँ,” जोङले बिजनेस इन्साइडरलाई भनेकी छन्। आफूलाई जागिरप्रति कुनै वितृष्णासमेत नभएको उनले बताएकी छन्। तर प्रडक्ट डिजाइनको कामसँगै कन्टेन्ट निर्माण र पुस्तक लेखनलाई निरन्तरता दिन थालेपछि तीनवटै कामलाई एकसाथ व्यवस्थापन गर्न कठिन भएको उनको भनाइ छ।

“यो तीनवटा पूर्णकालीन जागिर गरेजस्तै हुन्थ्यो,” उनले भनेकी छन्।

त्यसपछि जोङले आफ्नो करिअरको सबैभन्दा स्थिर हिस्सा अर्थात् नियमित टेक जागिर छाडेर लेखन र कन्टेन्ट निर्माणमा पूर्ण रूपमा केन्द्रित हुने निर्णय गरिन्। स्थिर तलब छाड्ने निर्णय भने उनका लागि सहज थिएन। राजीनामा दिनुअघि आफू निकै चिन्तित भएको र आर्थिक सुरक्षाबाट टाढिँदा भविष्यमा पछुताउनुपर्ने हो कि भन्ने चिन्ता रहेको उनले बताएकी छन्।

निर्णयलाई स्थायी नबनाउन उनले आफूलाई एक वर्षको समयसीमा तोकेकी छन्। यस अवधिमा आफैँका लागि काम गर्ने र एक वर्षपछि कर्पोरेट क्षेत्रमा फर्किने वा नफर्किने निर्णय गर्ने उनको योजना छ।

जागिर छाडेपछि उनको दैनिक जीवनसमेत बदलिएको छ। उनी बिहान साइकल चलाउँदै जिम जान्छिन्, कार्यालयमा केही घण्टा लेखन गर्छिन् र बाँकी समय कन्टेन्ट निर्माणमा लगाउँछिन्। तर नयाँ जीवनशैलीमा सबैभन्दा ठूलो चुनौती भने अनियमित आम्दानी बनेको छ।

भुक्तानीमा ढिलाइ भएका कारण जुलाईमा कन्टेन्ट निर्माणबाट उनले जम्मा ६ अमेरिकी डलर मात्र आम्दानी गरेकी थिइन्। पुस्तकको अग्रिम रकमबाट केही आम्दानी भए पनि उनको मासिक कमाइमा ठूलो उतारचढाव आउने गरेको छ। कुनै महिनामा आम्दानी नहुन सक्छ भने कुनै महिनामा पुरानो जागिरको भन्दा बढी कमाइ हुने गरेको उनले बताएकी छन्।

“अस्थिर आम्दानीसँग मानसिक रूपमा अनुकूल हुन मैले आफूलाई तयार पार्नुपरेको छ,” उनले भनेकी छन्।

आफ्नै लागि काम गर्दा काम र व्यक्तिगत जीवनबीचको सीमा कायम राख्न पनि कठिन भएको उनको अनुभव छ। कर्पोरेट जागिरमा जस्तो कार्यदिन समाप्त हुने निश्चित समय नहुँदा सधैँ अर्को काम बाँकी रहेको महसुस हुने उनले बताएकी छन्।

आफ्नो नयाँ करिअर यात्राको तीन महिना बितिसक्दा पनि जोङ आफ्नो निर्णयप्रति सकारात्मक देखिएकी छन्। भविष्यमा कर्पोरेट क्षेत्रमा फर्किनुपरे पनि आफूले यो एक वर्षलाई गल्तीका रूपमा नहेर्ने उनको भनाइ छ।

उनका अनुसार अनिश्चित बाटो रोजेर के हासिल गर्न सकिन्थ्यो भन्ने कुरा प्रयास नै नगरी जीवनभर सोचिरहनु नै सबैभन्दा ठूलो पछुतो हुन सक्थ्यो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका