काठमाडौं: एएफसी च्याम्पियनसिप छनोटको तेस्रो चरणअन्तर्गत लाओसविरुद्धको खेललाई नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले अत्यन्त गम्भीर रुपमा लिएको बताएका छन्। लाओसको घरेलु मैदानमा हुने खेलको पूर्वसन्ध्यामा आयोजित प्रेस कन्फ्रेन्समा बोल्दै प्रशिक्षक रसले घरेलु टोलीले घरेलु मैदानको फाइदा लिन सक्ने भएकाले नेपाल उच्च सतर्कताका साथ मैदानमा उत्रने बताए।
“लाओस एक संगठित र आक्रामक टोली हो। उनीहरूको घरेलु प्रदर्शन निकै प्रभावशाली हुन सक्छ। सानो कमजोरीले पनि खेलको नतिजा उल्टिन सक्छ,” प्रशिक्षक रसले भने, “त्यसैले हामी खेललाई पूर्ण गम्भीरताका साथ लिइरहेका छौं। दुवै टोली अंक थप्न चाहन्छन् र तयार अवस्थामा छन्।”
प्रशिक्षक रसले टोलीमा केही परिवर्तन हुने संकेत पनि गरे। हङकङविरुद्धको अघिल्लो खेलमा उत्रिएको टोलीलाई यसपटक पूर्णरूपमा दोहोर्याइनेमा शंका रहेको भन्दै उनले सम्भवत: केही नयाँ अनुहारहरूलाई मैदानमा उतारिने बताए।
त्यसैबीच, डिफेन्डर सन्देश श्रेष्ठ चोटका कारण टोलीमा अनिश्चित छन्। कप्तान किरण चेम्जोङले भने टोली लाओसविरुद्ध प्रतिस्पर्धाका लागि मानसिक र शारीरिक रूपमा तयार रहेको बताए। “हामी सधैं लाओसविरुद्ध उत्साहित छौं। पछिल्ला चार खेलमा म आफैं सहभागी थिएँ, त्यसैले हामी तयारीको चरम अवस्थामा छौं,” कप्तान किरणले भने।
लाओसविरुद्धको खेल बुधबार हुनेछ। यो खेल समूह एफ अन्तर्गतको पहिलो चरणको अवे प्रतिस्पर्धा हो। यसअघिका ६ खेलमध्ये नेपालले ४ मा जित र २ मा बराबरी खेलेको छ। लाओसको घरेलु मैदानमा नेपालले १ जित र १ बराबरीको नतिजा निकालेको छ। तेस्रो चरणअन्तर्गत नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो भने लाओस भियतनामसँग ५–० ले पराजित भएको थियो।


