Friday, April 17, 2026
Homeअन्तराष्ट्रियलस एन्जलसमा आप्रवासन विरोधी प्रदर्शन चर्किंदै, ट्रम्पको आदेशमा २,००० नेशनल गार्ड तैनाथ

लस एन्जलसमा आप्रवासन विरोधी प्रदर्शन चर्किंदै, ट्रम्पको आदेशमा २,००० नेशनल गार्ड तैनाथ

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको लस एन्जलस शहरमा जारी विरोध प्रदर्शन रोक्न २,००० नेशनल गार्ड सेना तैनाथ गर्न आदेश दिएका छन्।
यी प्रदर्शनहरू अमेरिकी आप्रवासन तथा सीमा प्रवर्तन एजेन्सी (ICE) द्वारा अवैध आप्रवासीहरू विरुद्धको छापामारी अभियानको विरोधमा भइरहेको हो।

शनिबार, लस एन्जलसको प्यारामाउन्ट क्षेत्रमा भएको झडपमा ल्याटिनो समुदायका सदस्य र आइसीइ अधिकारीहरूबीच ठोक्किन पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र लाठीचार्जको प्रयोग गरेको पुष्टि गरिएको छ।

११८ आप्रवासी पक्राउ, गभर्नरको आलोचना
आइसीइले यस हप्तामात्रै ११८ जनालाई पक्राउ गरिसकेको छ, जसमध्ये ४४ जनालाई शुक्रबार पक्राउ गरिएको बताइएको छ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले उक्त कारवाहीलाई “क्रूर र अमानवीय” भन्दै आलोचना गरेका छन्।

शनिबार गभर्नर न्यूसम र राष्ट्रपति ट्रम्पबीच झण्डै ४० मिनेट टेलिफोन संवाद भएको थियो, तर सो संवादको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। यद्यपि, सो संवादपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मा लेखे:

“यदि क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र लस एन्जलसका मेयर करेन बासले आफ्नो काम गर्न सक्दैनन् भने, संघीय सरकारले हस्तक्षेप गर्नेछ र दंगा र लुटपाट नियन्त्रण गर्नेछ।”

स्थिति आंशिक रूपमा सामान्य, तर तनाव कायमै
प्यारामाउन्ट क्षेत्रमा अहिले स्थिति केही शान्त देखिए पनि प्रदर्शन र प्रहरीबीचको द्वन्द्व अझै अन्त्य भएको छैन। स्थानीय अधिकारीहरूका अनुसार स्थिति नजरमा राखिएको छ, र सम्भावित थप झडप हुनसक्ने अनुमान गरिएको छ।

यस प्रकरणले ट्रम्प प्रशासनको आप्रवासन नीतिमा कडाइ, तथा त्यसविरुद्ध जनस्तरको प्रतिक्रिया र राज्य सरकारसँगको टकरावलाई पुनः उजागर गराएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका