काठमाडौँ — लघुवित्त वित्तीय संस्थाबाट ऋण तथा सापटी लिएका ग्राहकले ५ देखि १० प्रतिशतसम्म ब्याज छुट पाउने भएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले बिहीबार उक्त निर्णय गरी कार्यान्वयनका लागि सदस्य संस्थालाई परिपत्र गरेको छ ।
‘वैशाखदेखि असारसम्म भुक्तानी हुने नयाँ–पुराना सबै ब्याजमा ग्राहकले १० प्रतिशतसम्म छुट पाउनेछन्,’ संघका अध्यक्ष वसन्त लम्सालले भने । अघिल्लो पटकको कोरोना संक्रमण तीव्र रूपले बढिरहेको समयमा राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुट दिएका थिए । कोभिड–१९ संक्रमणको जोखिम बढिरहेको समयमा फिल्डमा हिँड्ने र सदस्यसँग भेटघाट गर्ने काम कम गर्न पनि संघले आग्रह गरेको छ । हाल नेपालभर ७२ संस्था सञ्चालनमा छन् । तीमध्ये ६२ वटा संस्था मात्र संघमा आबद्ध छन् ।
संघमा आबद्ध नभएका संस्थालाई पनि परिपत्र पठाएर ब्याज छुट र स्वास्थ्य मापदण्ड पालना गराउन सुझाएको अध्यक्ष लम्सालले जानकारी दिए । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले पनि बैंकिङ समय घटाउने निर्णय गरेको छ । संघले शुक्रबार सूचना जारी गर्दै उक्त जानकारी दिएको छ ।
ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र सम्भव भएसम्मका अझ थप उपाय अवलम्बन गर्ने सूचनामा उल्लेख छ । ग्राहकलाई परिस्थिति केही सहज नभएसम्म ससानो निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने पनि निर्णय पनि एसोसिएसनले गरेको छ ।