मस्को । रुस र युक्रेनबीच चार महिनापछि पहिलो पटक ठूलो संख्यामा युद्धबन्दी तथा नागरिकहरूको साटासाट भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा अमेरिकी मध्यस्थतामा दुई दिनसम्म चलेको शान्ति वार्तापछि दुवै पक्षले १५७–१५७ जनालाई स्वदेश फर्काएका हुन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार स्वदेश फर्किएका १५७ युक्रेनीमध्ये सात जना सर्वसाधारण छन् भने बाँकी सशस्त्र बल, नेशनल गार्ड र सीमा सुरक्षा बलका सैनिक रहेका छन्। फर्किएका अधिकांश व्यक्ति सन् २०२२ देखि रुसी नियन्त्रणमा थिए।
राष्ट्रपति जेलेन्स्कीले रुसी जेलमा रहेका सबै युक्रेनी नागरिक र सैनिकलाई स्वदेश फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन्। यता, रुसी रक्षा मन्त्रालयले पनि आफ्ना १५७ सैनिकसँगै युक्रेनी नियन्त्रणमा रहेका तीन रुसी नागरिकलाई मुक्त गरिएको पुष्टि गरेको छ।
अमेरिकी पहलमा सुरु भएको शान्ति वार्तामा विशेष दूत स्टिभ विट्कोफ र जारेड कुश्नरले नेतृत्व गरिरहेका छन्। वार्तामा मुख्य रूपमा क्षेत्रीय अखण्डता र भविष्यमा हुन सक्ने रुसी आक्रमण रोक्न युक्रेनले माग गरेको सुरक्षा प्रत्याभूतिको विषयमा छलफल भएको जनाइएको छ।
रुसले युक्रेनको पूर्वी औद्योगिक क्षेत्र डोनबासको बाँकी भूभाग सुम्पिनुपर्ने माग राखिरहेको छ, जुन युक्रेनका लागि सबैभन्दा जटिल विषय बनेको छ। विशेष दूत विट्कोफले वार्तालाई ‘विस्तृत र फलदायी’ भएको बताएका छन् भने अझै धेरै काम बाँकी रहेको उल्लेख गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले पनि वार्ता सहज नभएको जनाउँदै छिटो नतिजा चाहिएको बताएका छन्।
रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण जारी राख्दा लाखौँ मानिस बिजुली, पानी र ताप सुविधाविहीन अवस्थामा रहेको समयमा यो वार्ता र बन्दी साटासाट भएको हो। विश्लेषकहरूले यसलाई चार वर्षदेखि जारी युद्ध अन्त्यतर्फको सानो तर सकारात्मक संकेतका रूपमा हेरेका छन्।



