Wednesday, August 5, 2026
Homeराजनीतिरास्वपाले सार्वजनिक गर्‍यो स्थानीय निर्वाचन उम्मेदवार छनोट मापदण्ड, चार चरण पार गरेपछि...

रास्वपाले सार्वजनिक गर्‍यो स्थानीय निर्वाचन उम्मेदवार छनोट मापदण्ड, चार चरण पार गरेपछि मात्रै टिकट

काठमाडौं । सत्तारूढ **राष्ट्रिय स्वतन्त्र पार्टी> (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी नयाँ रूपरेखा सार्वजनिक गरेको छ। स्थानीय तहको निर्वाचन हुन करिब आठ महिना बाँकी रहँदा पार्टीले ‘क्यान्डिडेट क्लब’ र उम्मेदवार छनोट कार्यविधिसहितको मापदण्ड लागू गरेको हो।

पार्टीका अनुसार वैज्ञानिक, पारदर्शी र वस्तुपरक छनोट प्रणालीमार्फत योग्य नेतृत्व चयन गर्ने उद्देश्यले नयाँ व्यवस्था ल्याइएको हो। आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि देशभरका ३५ हजार २२१ पदमा उम्मेदवार छनोट गर्नुपर्नेछ।

‘क्यान्डिडेट क्लब’मा आवेदन अनिवार्य

रास्वपाको नयाँ व्यवस्थाअनुसार मेयर, उपमेयर, वडाध्यक्ष वा वडा सदस्य जुनसुकै पदमा उम्मेदवारी दिन चाहने व्यक्तिले पालिका क्यान्डिडेट क्लब वा वडा क्यान्डिडेट क्लबमा अनिवार्य आवेदन दिनुपर्नेछ।

आवेदनका लागि कानुनअनुसार उम्मेदवारी दिन योग्य हुनुका साथै रास्वपाको साधारण सदस्य रहेको र पार्टीको विचार, सिद्धान्त तथा नीतिप्रति प्रतिबद्ध हुनुपर्ने सर्त राखिएको छ।

उम्मेदवारले घरेलु हिंसा, यौन दुर्व्यवहार वा साइबर बुलिङमा संलग्न नभएको, वैवाहिक अवस्थाको कानुनी स्पष्टता रहेको तथा आफूविरुद्ध अदालतमा मुद्दा भए वा नभएको विषयमा स्वघोषणा पनि गर्नुपर्ने व्यवस्था गरिएको छ।

उम्मेदवार छनोटका चार चरण

रास्वपाले उम्मेदवार छनोटका लागि चार चरणको मूल्यांकन प्रणाली लागू गरेको छ।

१. लिडरसिप एकेडेमी (२५ प्रतिशत भारांक)
आवेदन स्वीकृत भएका उम्मेदवारले पार्टीको ‘लिडरसिप एकेडेमी’मा सहभागी हुनुपर्नेछ। प्रशिक्षणपछि हुने परीक्षणमा असफल हुनेहरू छनोट प्रक्रियाबाट बाहिरिनेछन्।

२. पोलिटिकल प्रोक्सिमिटी (२५ प्रतिशत भारांक)
यस चरणमा उम्मेदवारको संगठनसँगको आबद्धता, जनसमर्थन, चुनाव जित्ने सम्भावना, सार्वजनिक छवि, आचरण तथा सामाजिक मूल्यांकनका आधारमा अंक प्रदान गरिनेछ। यसका लागि छुट्टै मूल्यांकन समिति गठन गरिनेछ।

३. समावेशी सम्बोधन (१० प्रतिशत भारांक)
संवैधानिक समावेशी सिद्धान्तअनुसार १० प्रतिशत भारांक छुट्याइएको छ। तर यसअघि सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख वा उपप्रमुख, मन्त्री, उच्च राजनीतिक वा कूटनीतिक नियुक्ति पाइसकेका तथा समानुपातिक वा आरक्षणको सुविधा लिइसकेका व्यक्तिले यो अंक प्राप्त गर्ने छैनन्।

४. पार्टीको आन्तरिक निर्वाचन (४० प्रतिशत भारांक)
पार्टीभित्रको मतदानलाई उम्मेदवार छनोटको सबैभन्दा महत्वपूर्ण आधार बनाइएको छ। यसको कुल भारांक ४० प्रतिशत रहनेछ।

तीन तहको मतदाता मण्डल

आन्तरिक निर्वाचनमा तीन प्रकारका मतदाता मण्डल रहनेछन्।

  • क्रियाशील मतदाता मण्डल (७५ प्रतिशत) : सम्बन्धित क्षेत्रका साधारण सदस्य।
  • मध्यवर्ती सांगठनिक मतदाता मण्डल (१५ प्रतिशत) : वडा, पालिका, जिल्ला, प्रदेश समिति तथा केन्द्रीय विभागका सदस्य।
  • विशिष्ट मतदाता मण्डल (१० प्रतिशत) : सम्बन्धित क्षेत्रमा मतदाता रहेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा संघीय सांसद।

१९ सदस्यीय समिति गठन हुने

यो कार्यविधि कार्यान्वयन गर्न केन्द्रीय पदाधिकारीको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिने रास्वपाले जनाएको छ।

रूपरेखामा आर्थिक चलखेलमा पूर्ण प्रतिबन्ध, आन्तरिक मतदान वा मूल्यांकनमा धाँधली गर्नेमाथि कडा कारबाही तथा गुटबन्दी, दुष्प्रचार र चरित्रहत्या जस्ता गतिविधिलाई गम्भीर अनुशासनहीनता मानिने व्यवस्था गरिएको छ।

यद्यपि, असाधारण परिस्थितिमा नियमित प्रक्रिया बाहिरबाट पनि उम्मेदवार छनोट गर्न सकिने व्यवस्था राखिएको छ। त्यसका लागि पार्टीको केन्द्रीय समितिबाट दुईतिहाइ बहुमतले निर्णय गर्नुपर्ने प्रावधान समावेश गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका