काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आज काठमाडौँमा सुरू भएको छ।
शनिबार र आइतबार सञ्चालन हुने बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकबारे छलफल गरी पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ।
बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको संगठन संरचना, समीक्षा, रणनीति, सुदृढीकरण र जागरणलगायतका विषयमा छलफल हुनेछ। स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङसमेत हुने कार्यक्रम रहेको छ। बैठकको दोस्रो दिन संविधान संशोधनसम्बन्धी विषयमा छलफल गर्ने योजना छ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले तयार गर्नुभएको कार्यतालिकाअनुसार बैठकमा प्रस्तावानाको व्याख्या गर्दै पार्टीको दीर्घकालीन विकासका लागि भावी रोडम्यापमा छलफल हुनेछ। जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा आगामी कार्यदिशा र कार्यक्रम तालिकाबारे बैठकमा गहन छलफल हुने अपेक्षा गरिएको छ।
आइतबारको बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंक ट्यांक र केन्द्रीय विभागको पुनःसंरचना, पार्टी आचारसंहिता र बैठक सञ्चालन कार्यविधिको संशोधनसम्बन्धी विषयलाई अन्तिम रूप दिनेछ।
रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित ६१ जना सदस्य छन्। सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि कार्यवाहक सभापतिको जिम्मेवारी डोरप्रसाद अर्यालले सम्हाल्नुभएको छ।