काठमाडौँ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ। बैंकले जारी गरेको सूचनामा नयाँ नोट विशेष सुरक्षात्मक विशेषतासहित प्रचलनमा आएको उल्लेख गरिएको छ।
नयाँ नोट साबिककै आकार र रङमै जारी गरिएको हो। नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ।
नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ। मध्य भागमा नेपालको चुच्चे नक्सा र अशोक स्तम्भको चित्र समावेश गरिएको छ।
दृष्टिविहीनले छामेर पहिचान गर्न सक्ने गरी अशोक स्तम्भसँगै एउटा कालो थोप्ला राखिएको छ। त्यस्तै, बायाँपट्टि अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र छ। सुरक्षाका लागि २ मिमी चौडाइको सुरक्षा धागो राखिएको छ, जसले सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिन्छ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज ‘वि.सं. २०८१’ उल्लेख गरिएको छ।



