काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन्।
सोमबार काठमाडौंमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा संविधानविपरीतका गतिविधि बढ्दै गएकाले तिनलाई रोक्नुपर्ने बताएका हुन्।
उनले राजावादी शक्तिहरूको नाममा समाजलाई अस्थिर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै, राजनीति गर्न चाहनेहरूलाई खुला प्रतिस्पर्धामा आउन सुझाव दिए। पूर्वराजालाई लक्षित गर्दै उनले अस्थिरता र अराजकता फैलाउन नदिइने स्पष्ट गरे।
प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन साक्षरता दर बढाउनु पर्नेमा जोड दिए। उनले संविधानले सम्पत्तिको हक सुनिश्चित गरेकाले निजी विद्यालयहरू ढुक्क भएर लगानी गर्न सक्ने बताए। साथै, निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा ल्याउने प्रस्तावबारे आफू अचम्मित भएको पनि बताए।
सरकारले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई निःशुल्क शिक्षा दिने दायित्व बहन गर्ने र यसमा निजी क्षेत्रको पनि साथ आवश्यक रहेको उनले उल्लेख गरे।
कार्यक्रमका अवसरमा प्रधानमन्त्री ओलीले प्याब्सन गौरव, प्याब्सन रत्न लगायत सम्मानबाट पूर्वअध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा. विजय सम्बाहाम्फे लगायतलाई सम्मान प्रदान गरे।


