Sunday, June 28, 2026
Homeराजनीतिराजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा: नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी जनताको जरासम्म फैलिएको पार्टी भएकाले कसैले हल्लाउन नसक्ने दाबी गरेका छन्।

एमाले सिरहा जिल्ला कमिटीको ११औं अधिवेशनको उद्घाटन सत्रलाई सोमबार सिरहा बजारमा सम्बोधन गर्दै उनले भने, “एमालेसँग देश र जनताको हितबाहेक अरू कुनै स्वार्थ छैन। एमाले देश जोगाउने पार्टी हो, त्यसैले कार्यकर्ता र शुभेच्छुकहरू एमालेविरुद्धको भुलभुलैयामा नपर्नुहोस्।”

ओलीले विगतमा आफ्नो नेतृत्वमा सञ्चालित योजनाहरूको स्मरण गर्दै सुनकोसी–मरिन डाइभर्सन आयोजना, हुलाकी राजमार्ग निर्माण, शिक्षा र स्वास्थ्य सुधारलगायतका काम थालेको उल्लेख गरे। उनले मधेसका समस्या आफूलाई राम्ररी थाहा भएको भन्दै त्यसको समाधानका लागि केन्द्र सरकार प्रतिवद्ध रहेको बताएका छन्। “मैले आजै मधेस प्रदेशसभामा सम्बोधन गर्दै यसबारे स्पष्ट धारणा राखिसकेको छु,” उनले भने।

राजतन्त्रको सम्भावनाबारे बोल्दै ओलीले भने, “राजतन्त्र फर्किन्छ भन्ने सपना अब पूरा हुनेवाला छैन। चैत १५ गतेको अराजक गतिविधिले यस्ता विचार बोेकेकाहरूको वास्तविकता उजागर भइसकेको छ। आगजनी र तोडफोड गर्नेहरूको हातमा शासन जान दिनु हुँदैन।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार बलियो रहेको भन्दै संविधानको रक्षा गर्दै समृद्धि र सुशासन सुनिश्चित गर्ने दाबी गरे। “यो सरकार चुनावसम्म टसमस हुँदैन,” उनले भने, “अबको १५ महिनापछि म सरकार कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु। अहिले सरकार ढल्छ भन्नेहरूले अब थाकिसके।”

अधिवेशनबाट परिपक्व र सर्वसम्मत नेतृत्व चयनको आग्रह गर्दै उनले गुटबन्दी नगर्न र देखावटी प्यानल निर्माणबाट टाढा रहन कार्यकर्तालाई आग्रह गरे।

सो अवसरमा जनता समाजवादी पार्टीबाट निर्वाचित धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजयकुमार सिंहसहित झन्डै पाँच सय जना विभिन्न दलका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। उनीहरूलाई अध्यक्ष ओलीले स्वागत गरेका हुन्।

कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठ, मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, प्रदेशसभामा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलगायतले मन्तव्य दिएका थिए।

यसअघि प्रधानमन्त्री ओलीले सिरहा बजारस्थित शहिद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेका थिए। त्यस्तै, उनले सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको पनि उद्घाटन गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका