Saturday, June 6, 2026
Homeखेलकुदराँचीको एकेडेमीदेखि विश्वकपसम्म: नेपाली क्रिकेटका 'सरप्राइज प्याकेज' गुल्सन झाको लोभलाग्दो यात्रा

राँचीको एकेडेमीदेखि विश्वकपसम्म: नेपाली क्रिकेटका ‘सरप्राइज प्याकेज’ गुल्सन झाको लोभलाग्दो यात्रा

काठमाडौँ | अग्लो कद, बायाँ हातको आक्रामक ब्याटिङ र दायाँ हातको तीव्र गतिको बलिङ— १९ वर्षीय गुल्सन झा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका अभिन्न हिस्सा बनिसकेका छन्। सन् २०२४ को विश्वकप खेलिसकेका गुल्सन आगामी २०२६ को टी-२० विश्वकपमा पनि नेपालका मुख्य हतियार हुन्। सर्लाहीमा जन्मेर भारतको राँचीमा क्रिकेटको कखरा सिकेका गुल्सनको यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन। सन् २०१६ देखि २०२० सम्म राँचीको अरुणोदय एकेडेमीमा तालिम लिएका उनलाई क्रिकेटर बनाउन बुवाको ठूलो त्याग छ। महेन्द्र सिंह धोनीलाई आदर्श मान्ने उनले राँचीमा बलिङमा निखार ल्याए पनि लकडाउनका कारण नेपाल फर्किएपछि केही समय क्रिकेटबाट टाढिएर पब्जीमा भुलिएका थिए।

तर, खेलप्रतिको भोकले उनलाई पुनः मैदानमा फर्कायो। २०७७ सालको मेयर्स कपमा नेपाल पुलिस क्लबबाट खेल्दै १५ वर्षको उमेरमा एपिएफका दिग्गज ब्याट्सम्यानहरूलाई धराशायी बनाएपछि उनलाई ‘सरप्राइज प्याकेज’ को संज्ञा दिइएको थियो। सोही प्रदर्शनले उनलाई सन् २०२१ मा राष्ट्रिय टोलीको ढोका खोलिदियो। सुरुमा बलरको रूपमा चिनिएका गुल्सनलाई प्रशिक्षक मोन्टी देसाईले ‘फिनिसर’ को भूमिका दिएपछि उनी एक भरपर्दो अलराउन्डरमा रूपान्तरण भए। एसिसी प्रिमियर कपको फाइनल र विश्वकप लिग-२ का निर्णायक खेलहरूमा उनले खेलेको इनिङ्स नेपाली क्रिकेट इतिहासमा स्वर्ण अक्षरले लेखिएका छन्। दबाबका बीच पनि ‘कुल’ रहन सक्ने क्षमता भएका गुल्सन अहिलेका युवा पुस्ताका लागि प्रेरणाका स्रोत हुन्, जसले कलिलै उमेरमा विश्व क्रिकेटमा नेपालको झण्डा फहराइरहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका