काठमाडौँ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण हुँदै आएको औषधि बरामद गरेको छ ।
सूचनाका आधारमा टोलीले टोखा नगरपालिका–५, बसुन्धरामा रहेको तक्षक फार्मेसीमा छापा मारेको थियो। उक्त फार्मेसीले चिकित्सकको प्रेसक्रिप्सन बिना बिक्री गर्न नपाइने औषधि मापदण्ड विपरीत बिक्री गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।
छापामारीका क्रममा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल, र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद गरिएको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।
उनका अनुसार उक्त फार्मेसी सङ्खुवासभा जिल्ला, खादवारी नगरपालिका–८ निवासी ४० वर्षीय प्रकाश गौतमले सञ्चालन गर्दै आएका थिए। औषधि व्यवस्था विभागसँग समन्वय गर्दा फार्मेसीले मापदण्ड विपरीत औषधि बिक्री वितरण गरेको पुष्टि भएको उनले बताए।


