काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने प्रस्ताव प्रस्तुत गरेका छन्।
आइतबार काठमाडौंमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस र एमाले जस्ता पार्टीहरूसँग चुनावी तालमेल नगर्ने र पार्टीलाई एक्लै अघि बढाउने योजना राखेका हुन्।
वैज्ञानिक समाजवादको बाटोमा एकता प्रयास
प्रचण्डले वैज्ञानिक समाजवादमा विश्वास राख्ने पार्टीहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने प्रस्ताव गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य र प्रभु साहलगायतका दलहरूसँग एकताको पहल गर्ने कुरा प्रतिवेदनमा समावेश रहेको बताए।
जनतामाझ फर्कने अभियान
प्रचण्डले माओवादीको पक्षमा देशभर सकारात्मक ऊर्जा पैदा भएको भन्दै यथास्थितिबाट जनतामाझ फर्किनुपर्नेमा जोड दिएका छन्। यसका लागि फागुन १ देखि तराई–मधेश जागरण अभियान र अर्को महिना पूर्व–पश्चिम अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन्। यी अभियानहरूमा अध्यक्षसहित सबै पदाधिकारीको सक्रिय सहभागिता आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
संविधान संशोधन र संक्रमणकालीन न्याय
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनले अग्रगमनको पक्षमा संविधान संशोधनका लागि बहस र छलफल गर्नुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी समितिमा पदाधिकारी नियुक्तिका लागि पहल गर्नुपर्ने कुरा पनि समेटेको छ।
बैठकमा प्रदेश र समन्वय समितिको रिपोर्टिङ
बैठकमा बिभिन्न प्रदेश कमिटी र सम्पर्क समन्वय कमिटीले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन्। ती रिपोर्टिङमा माओवादीमा देशभर प्रवेश गर्नेको लहर देखिएको र पार्टीलाई अझ बलियो बनाउन आवश्यक रहेको उल्लेख गरिएको प्रवक्ता सापकोटाले बताए।
नन्दकिशोर पुनलाई आमन्त्रित सदस्य
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई बैठकमा आमन्त्रित सदस्यका रूपमा बोलाइएको तर कुनै पदसम्बन्धी छलफल नभएको प्रवक्ता सापकोटाले जानकारी दिए।
केन्द्रीय समितिको पूर्ण बैठक सोमबार बिहान ११ बजे बस्नेछ, जहाँ राजनीतिक प्रतिवेदन र अन्य विषयमाथि थप छलफल हुने माओवादी केन्द्रले जनाएको छ।