काठमाडौँ । एक दशकभन्दा लामो समयदेखि आर्थिक तथा सामाजिक उथलपुथल भोगिरहेको भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार रहेको छ। अमेरिका र भेनेजुएलाबीच भएको नयाँ तेल उत्पादन सम्झौताबाट ठूलो लगानी भित्रिने अपेक्षासँगै देशले समृद्धिको नयाँ चरणमा प्रवेश गर्न सक्ने आशा पलाएको छ।
तर त्यसको आर्थिक लाभ तत्काल देखिन नसक्ने विज्ञहरूले चेतावनी दिएका छन्। केही भेनेजुएलालीले अमेरिकी लगानीबाट अमेरिकाले ठूलो नाफा लैजाने र आफ्नो देशका लागि थोरै मात्र लाभ बाँकी रहने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। विपक्षी दलले पनि पारदर्शिता र नागरिक स्वतन्त्रताको अभाव देखाउँदै वर्तमान सरकारसँग यति ठूलो लगानी व्यवस्थापन गर्ने क्षमता नरहेको प्रश्न उठाएको छ।
यद्यपि, विज्ञहरूले विभिन्न चुनौतीका बाबजुद आशावादी हुने आधार रहेको बताएका छन्। उनीहरूका अनुसार परियोजनालाई केवल तेलबाट हुने आम्दानीका आधारमा मूल्यांकन गर्नु हुँदैन। लामो समयदेखि संकटग्रस्त भेनेजुएलाको अर्थतन्त्रका अन्य क्षेत्रमा यसले पार्न सक्ने सकारात्मक प्रभावलाई पनि ध्यान दिन आवश्यक छ।
शंका र चुनौती
अमेरिकी सरकारले भेनेजुएलाको कम्पनी नर्थ अमेरिकन ब्लु इनर्जी पार्टनर्स (एनएबीईपी) सँग करिब ६५ अर्ब ब्यारेल कच्चा तेल उत्पादनको सम्भावना रहेका १७ वटा तेल क्षेत्र विकास गर्ने सम्झौता गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतालाई ‘ऐतिहासिक’ भन्दै अमेरिकाले कुल उत्पादनको २० प्रतिशत तेल लागत मूल्यमा खरिद गर्न सक्ने बताएका छन्।
यसबीच विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि भेनेजुएलामा नयाँ ऊर्जा परियोजना सञ्चालनका लागि थप सम्झौतामा हस्ताक्षर गरेका छन्।
भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले बिहीबार अमेरिकाले भेनेजुएलाको तेल भण्डार विकासमा खेल्ने भूमिकालाई समर्थन गरिन्। तर उनले वर्तमान भेनेजुएला सरकारलाई ‘अवैध शासन’ भन्दै देशको तेल स्रोत विकासका लागि अमेरिकालाई अझ सक्षम साझेदार आवश्यक रहेको बताइन्।
यस्ता परियोजनाका लागि ‘पूर्ण पारदर्शिता, कानुनी वैधता र दक्षता’ अपरिहार्य रहेको उनको भनाइ छ। गम्भीर र लोकतान्त्रिक सरकारले मात्र आवश्यक वैधता र स्थिरता प्रदान गर्न सक्ने उनले दाबी गरिन्।
सरकारले सम्झौतासम्बन्धी सीमित जानकारी मात्र सार्वजनिक गरेको भन्दै विज्ञहरूले पनि प्रश्न उठाएका छन्। विशेषगरी तेल क्षेत्रको अनुमतिपत्रको अवधिबारे वासिङ्टन र काराकासबाट आएका विवरणमा केही विरोधाभास देखिएको छ। विशाल लगानी कार्यान्वयन हुने विषयमा समेत प्रश्न उठाइएको छ।
अर्थशास्त्री म्यानुएल सडरल्यान्डका अनुसार ठूलो मात्रामा विदेशी पुँजी भित्रिँदा त्यसलाई उचित रूपमा व्यवस्थापन गर्न नसके भेनेजुएलाको अर्थतन्त्रमा असन्तुलन उत्पन्न हुन सक्छ। उनका अनुसार मुद्रा, राजनीतिक प्रणाली र विनिमय दरको संरचना परिवर्तन गर्न सक्ने ‘नयाँ आर्थिक संस्था र नयाँ नियम’ आवश्यक पर्नेछ। अन्यथा ठूलो रकम देशमा भित्रिए पनि त्यसको वास्तविक मूल्य क्रमशः कमजोर हुन सक्ने उनको भनाइ छ।
ऊर्जा पूर्वाधारमा ठूलो लगानी आवश्यक
प्रस्तावित लगानीलाई वास्तविक परियोजनामा परिणत गर्न भेनेजुएलाले नयाँ ऊर्जा पूर्वाधार निर्माण गर्नुका साथै पुराना पूर्वाधारको पुनर्निर्माण गर्नुपर्ने विज्ञहरू बताउँछन्। सम्झौतामा हालसम्म विकास नगरिएका तेल क्षेत्रसमेत समावेश छन्।
भेनेजुएलाका अर्थशास्त्री लुइस भिसेन्ते लेओनका अनुसार नयाँ तेल क्षेत्र विकास गर्न देशमा अहिले नभएका विद्युतीय पूर्वाधारसमेत आवश्यक पर्नेछ। यसका लागि स्रोत, लगानी, प्रविधि र विशेषगरी तेल क्षेत्र वरपरका समुदाय तथा व्यवसायमा काम गर्ने ठूलो श्रमशक्ति आवश्यक पर्नेछ।
यस्तो लगानीले अर्थतन्त्रका अन्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ छ। लेओनका अनुसार नयाँ तेल क्षेत्र पूर्ण रूपमा विकास हुन पाँचदेखि १० वर्षसम्म लाग्न सक्छ।
सडरल्यान्डका अनुसार देशको विद्युतीय प्रणालीको समेत व्यापक पुनर्निर्माण आवश्यक छ। विद्युतीय प्रणाली रूपान्तरणका लागि मात्रै १५ अर्ब डलरभन्दा बढी खर्च हुन सक्ने उनको अनुमान छ।
उनले अधिकारीहरूले उल्लेख गरेको १०० अर्ब डलरसम्मको लगानी तत्कालै देशमा भित्रिने रकम नभएको पनि स्पष्ट पारे।
‘यस्तो रकम क्रमशः आउनेछ। भोलि नै १० वटा कम्पनी आएर १०० अर्ब डलर लगानी गर्ने होइन,’ उनले भने।
उनका अनुसार सुरुमा १ करोड, २ करोड वा १० करोड डलरजस्ता लगानी आउन सक्छन् र समयसँगै ती बढ्दै जानेछन्। यद्यपि, वार्षिक ५ अर्ब डलर बराबरको लगानी मात्रै भित्रिए पनि भेनेजुएलाको तरलता समस्या कम गर्न महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।
लेओनका अनुसार भेनेजुएलाजस्तो सानो अर्थतन्त्रमा यति ठूलो परियोजना अघि बढ्दा यसको प्रभाव तुलनात्मक रूपमा छिटो देखिन सक्छ। यसले लगानीकर्तालाई उत्साहित गर्दै देशको लगानी वातावरण सुधार्न सक्ने उनको विश्वास छ।
परिणामको प्रतीक्षामा भेनेजुएलाली
नयाँ तेल सम्झौताप्रति भेनेजुएलाका नागरिकमा आशा र चिन्ता दुवै देखिएको छ।
स्थानीय बासिन्दा इरास्मो रोजासले अर्थतन्त्र रातारात सुधार नहुने भएकाले धैर्य गर्नुपर्ने बताए। देश अहिले संक्रमणको चरणमा रहेकाले सम्झौता सकारात्मक भएको उनको भनाइ छ।
लामो समयदेखि समाधान हुन नसकेका सार्वजनिक सेवाका समस्या सम्बोधन गर्न रकम प्रयोग नभए सम्झौताको खासै अर्थ नहुने केही नागरिकको धारणा छ।
व्यापारी जियान गोमेजले देशमा सुधार आएको आफूहरूले देख्न चाहेको बताए। उनका अनुसार प्रतिबन्ध भए पनि नभए पनि अन्ततः सबैभन्दा बढी पीडा जनताले नै भोगिरहेका छन्।
पछिल्ला दुई वर्षमा भेनेजुएलाको तेल उत्पादन भने बिस्तारै तर निरन्तर बढिरहेको छ। सन् २०१९ को सुरुआतपछि पहिलोपटक हालै दैनिक १० लाख ब्यारेलभन्दा बढी कच्चा तेल उत्पादन भएको छ।
लेओनका अनुसार उत्पादन वृद्धिको प्रभाव अर्थतन्त्रमा देखिन थालेको छ र वर्षको अन्त्यसम्म यसको प्रभाव अझ ठूलो हुन सक्छ। तर नयाँ लगानीबिना यो वृद्धि दीर्घकालीन रूपमा टिकाउ हुनेमा भने उनले शंका व्यक्त गरेका छन्।
आर्थिक वृद्धि भए जनताले लाभ कहिले पाउलान् ?
नयाँ लगानी निश्चित भए पनि सर्वसाधारणले आफ्नो जीवनस्तरमा सुधार कहिलेदेखि अनुभूति गर्लान् भन्ने अझै अनिश्चित छ।
लेओनका अनुसार यो ‘अझ जटिल विषय’ हो। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि हुँदैमा त्यसको प्रत्यक्ष लाभ जनताको दैनिक जीवनमा पुग्छ भन्ने हुँदैन। देशमा विगतको तुलनामा धेरै पैसा भित्रिए पनि त्यसको प्रभाव जनताले तत्काल महसुस नगर्न सक्ने उनको भनाइ छ।
कार्यवाहक भेनेजुएलाली राष्ट्रपति डेल्सी रोड्रिगेजले तेल उत्पादन दैनिक १५ लाख ब्यारेल पुर्याउने लक्ष्य राखेकी छन्। यसले आर्थिक सूचकमा केही सुधार ल्याउन सक्छ।
तर विद्युत् र खानेपानीजस्ता आधारभूत पूर्वाधारका समस्या समाधान नभएसम्म तेलबाट प्राप्त अतिरिक्त आम्दानीको प्रत्यक्ष लाभ जनताले महसुस गर्न कठिन हुने लेओन बताउँछन्। सार्वजनिक सेवा व्यवस्थापनमा सुधार भएको महसुस गर्न सर्वसाधारणलाई कम्तीमा एक वर्ष लाग्न सक्ने उनको अनुमान छ।
नयाँ सम्झौता पर्याप्त र न्यायोचित छ कि छैन तथा विश्वका अन्य देशसँग तुलना गर्दा यसको अवस्था कस्तो छ भन्ने विषयमा बहस जारी छ। भेनेजुएलाको अर्थतन्त्रमा वृद्धि हुने सम्भावना भए पनि त्यो वृद्धि कति छिटो, कति दिगो र कति समान रूपमा सर्वसाधारणको जीवनमा पुग्छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ।


