Sunday, July 5, 2026
Homeराजनीतिभिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग

भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणको गम्भीर छानबिनका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन समिति गठन नहुँदासम्म आन्दोलन जारी राख्ने अडान लिएको जनाउँदै सरकारले गम्भीरतापूर्वक यो विषयलाई सम्बोधन गर्नुपर्ने बताएका हुन्।

उनले भने, “यसबारे गम्भीर ढंगले अध्ययन र छानबिन गर्न जरुरी छ। उहाँहरूले छानबिन समिति नबनेसम्म सदन अवरुद्ध गर्ने जानकारी गराउनु भएको छ। सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ। हामीले त्यसमा विश्वास गरेका छौं। तर अब ३० दिन कुर्नुपर्ने अवस्था छैन। तत्काल समिति गठन गरेर सबैको ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गर्दछु।”

त्यस्तै, उनले शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने सरकारको प्रतिबद्धता स्मरण गराउँदै त्यसबाट पछि नहट्न चेतावनीसमेत दिए।

“हामीले सदनमा असार १५ गतेभित्र शिक्षा विधेयक पारित गर्ने विषयमा लाखौं शिक्षकसँग सरकारको प्रतिबद्धता छ। त्यसलाई अब कुनै बाहानामा टार्न मिल्दैन,” उनले स्पष्ट पारे।

बस्नेतको सम्बोधनका क्रममा निरन्तर नाराबाजी गरिरहेको रास्वपाले भने मौन समर्थन जनाएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका