काठमाडौं । लगातार भइरहेका प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने तय भएका सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सबै विश्वविद्यालयका उपकुलपतिलाई पत्राचार गरी परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्। मन्त्रालयका अनुसार स्थगित परीक्षाको नयाँ तालिका परिस्थितिको मूल्याङ्कन गरी उपयुक्त समयमा सार्वजनिक गरिनेछ।
त्यस्तै, भदौ १२ गते सञ्चालन भएका परीक्षामा प्राकृतिक विपद्का कारण सहभागी हुन नसकेका परीक्षार्थीका लागि पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि विश्वविद्यालयहरूलाई निर्देशन दिइएको छ।
परीक्षाबाहेक अत्यावश्यक नभएका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रमसमेत तत्कालका लागि स्थगित गर्न मन्त्री पोखरेलले आग्रह गरेका छन्।
सरकारले विपद् प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराउन पनि निर्देशन दिएको छ। विपद्का कारण प्रभावित विद्यार्थी तथा अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न र अध्ययनको निरन्तरताका लागि आवश्यक सहजीकरण गर्नसमेत भनिएको छ।
वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर निर्णयहरू तत्काल कार्यान्वयन गर्न मन्त्री पोखरेलले विश्वविद्यालयका पदाधिकारीहरूलाई आग्रह गरेका छन्।


