काठमाडौँ । भारतको आसाम राज्यस्थित कार्बी आङ्लोङ जिल्लामा बोक्सीविद्या गरेको आरोपमा एक दम्पतीको हत्या गरी शव जलाएको घटनामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ।
हावडा प्रहरी चौकीअन्तर्गत पर्ने बेलोगुरी मुन्डा गाउँमा गत मंगलबार राति उक्त घटना भएको हो। प्रहरीका अनुसार गाउँलेहरूले दम्पतीमाथि बोक्सीविद्या गरेको आरोप लगाउँदै सामूहिक रूपमा आक्रमण गरेका थिए।
कार्बी आङ्लोङ जिल्लाका प्रहरी उपरीक्षक पुष्प राज सिंहले बीबीसीसँग कुरा गर्दै घटनामा चार महिलासहित २० जनालाई पक्राउ गरिएको पुष्टि गरे। उनका अनुसार घटनापछि प्रहरीले प्रमाण सङ्कलन गर्दै ४८ घण्टाभित्र अभियुक्तहरूको पहिचान गरी पक्राउ गरेको हो। उनले गाउँमा करिब १५०–२०० जनाको बसोबास रहेको र सामूहिक अपराधमा संलग्न व्यक्तिहरू छुट्याउन चुनौतीपूर्ण रहेको बताए। घटनाको अनुसन्धान भने अझै जारी छ।
हत्या गरिएका दम्पतीको पहिचान ४३ वर्षीय गार्डी बिरवा र ३३ वर्षीया मीरा बिरवाका रूपमा गरिएको छ।
शनिबार आसाम प्रहरी महानिरीक्षक (कानून तथा व्यवस्था) अखिलेश सिंहसहित वरिष्ठ प्रहरी अधिकारीहरूको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो। प्रहरीले बोक्सीको आरोपमा हुने हिंसात्मक घटनाविरुद्ध कडा कदम चालिने बताउँदै वरपरका क्षेत्रमा पनि अनुसन्धान विस्तार गरिएको जनाएको छ।
यसअघि गाउँलेहरूले दम्पतीलाई जिउँदै आगो लगाइएको भनिए पनि पछिल्लो अनुसन्धानले उनीहरूलाई पहिले हत्या गरी त्यसपछि शव जलाइएको तथ्य बाहिर आएको हावरघाट प्रहरी चौकीका इन्चार्ज सुन्थोम श्यामले बताएका छन्।


