Saturday, May 30, 2026
Homeखेलकुदबुद्धिचालका पूर्व अध्यक्ष जोशीको निधन

बुद्धिचालका पूर्व अध्यक्ष जोशीको निधन

काठमाडौं : नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा विश्व बुद्धिचाल महासंघका अनुसाशन कमिटीका सदस्य राजेशहरि जोशीको आइतबार निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको जनाइएको छ। स्वास्थ्यमा समस्या भएपछि आइतबार साँझ बी एन्ड बी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

नेपाल बुद्धिचाल संघको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका जोशीको कार्यकालमा नेपालमा बुद्धिचाल खेलको विकास र विस्तारमा थुप्रै कामहरू भएका थिए। उनकै कार्यकालमा नेपालबाट पहिलो फिडे मास्टर मनिष हमाल र अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजु भएका थिए। उनले जिम्मेवारी लिँदा दुई÷चार जना रेटेड खेलाडी रहेकोमा लगातार रुपमा रेटिङ प्रतियोगिताहरू सञ्चालन गर्दै ६ सय हाराहारीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेटेड खेलाडी उत्पादन गर्न नेपाल बुद्धिचाल संघ सफल भएको थियो।

जोशीले बुद्धिचाल खेललाई अन्तर्राष्ट्रिय जगतमा स्थापित पुर्‍याउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी सन् २०१४ मा नर्वेमा भएको फिडे कंग्रेसबाट विश्व बुद्धिचाल महांघको कार्यसमिति सदस्य र अनुशासन कमिटीको सदस्यमा निर्वाचित भएका थिए। यसैगरी सन् २०१८ मा जर्जियामा भएको कंग्रेसबाट दोस्रो कार्यकालका लागि पनि अनुसाशन कमिटीमा निर्वाचित भएका थिए।

उनले सन् २०१४ देखि २०१९ सम्म नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंका आवद्ध एसियन जोनल ३.२ को  अध्यक्ष  भएका थिए। उनको नेतृत्वमा रसिया, फ्रान्स, स्लोभानिया, भारत र युक्रेनमा अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर प्रतियोगिता, एसियन जोनल प्रतियोगिता र दक्षिण एसियाली प्रतियोगिता सञ्चालन भएको थियो। जोशीका बुवा आमा, श्रीमती, एक छोरा र एक छोरी छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका