निसीखोला: निसीखोला गाउँपालिका–६, भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच प्रस्तुत गर्ने परम्परा कायम छ।
बाइसे चौबीसे राज्यकालदेखि सुरु भएको यो पुतली नाचलाई स्थानीयले संरक्षण गर्दै आएका छन्। पुतलीजस्तै भेषभूषा धारण गरेर नाचिने यो नाच महँगो मानिन्छ। थरिथरि रङका कपडामा सजिएर बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्ने गर्छन्। युवा पुस्तामा नाच संरक्षण गर्ने रुचि बढ्दै जाँदा हरेक वर्ष नाचको रौनक थपिदै गएको छ।
भल्कोटमा मात्र प्रदर्शन हुने यो नाचलाई उत्कृष्ट मौलिक संस्कृतिको रूपमा लिने गरिन्छ। पुतली नाचसँगै कापै नाच, तरबार नाच र पट्टा नाच पनि यसै दिन प्रस्तुत गरिन्छ। युवापुस्ता विदेश पलायन र बजार झर्ने क्रमले पुतली नाच लोप हुने अवस्थामा पुगे पनि गाउँका युवाले यसको संरक्षणमा जुटेका छन्। मगर समुदायको पहिचानसँग जोडिएको यो नाचलाई बचाउन स्थानीय सरकार र विभिन्न सङ्घसंस्था पनि सक्रिय भएका छन्।
नाच संरक्षणका लागि तिलाचन युवा क्लबले नेतृत्व लिइरहेको छ। क्लबले पुराना पुस्ताबाट युवालाई यो संस्कृति हस्तान्तरण गर्ने कार्य गर्दै आएको छ। हरेक वर्ष नयाँ युवाहरू नाच्न सहभागी भइरहेका छन्। सयौँ वर्ष पुरानो मानिने यो नाच कहिलेदेखि सुरु भएको निश्चित जानकारी नभए पनि बाइसे चौबीसे राज्यकालदेखि नाचिदै आएको स्थानीय बूढापाका बताउँछन्।
७७ वर्षीय भाजवीर घर्तीमगरका अनुसार, “मैले होससमेत नपुगेको बेलादेखि पुतली नाच नाचिँदै आएको छ। अहिले म सात दशकभन्दा बढीको भएँ, यो नाच निरन्तर चलिरहेको छ। हाम्रो सानोतिनो हुँदा बाउबाजेले नाच्नुहुन्थ्यो, हामीले त्यही सिक्यौँ। अहिलेका युवाले पनि सिक्दैछन् र गर्दैछन्। बाजेहरूले यो नाच सयौँ वर्ष पुरानो हो भन्नुहुन्थ्यो।”
पुतली नाच किन नाचिन्छ?
तत्कालीन बाइसे चौबीसे राज्य सञ्चालनका बेला राजारानीको मृत्यु भएपछि उनीहरूको सम्झनामा पुतली नाच सुरु गरिएको स्थानीय नैनासिंह बुढामगर बताउँछिन्। उनका अनुसार, माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने परम्परा रहेको छ।