काठमाडौँ: काठमाडौँको सफाइ, हरियालीको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले आगामी पुस २७ गते “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२५” आयोजना हुँदैछ। यो कार्यक्रमको यो तेस्रो संस्करण हो।
रेस तीनकुने खुला मैदानबाट सुरु भएर नयाँ बानेश्वर र माइतीघर हुँदै पुनः माइतीघरबाट फर्किएर तीनकुने मैदानमै समाप्त हुनेछ। सहभागीता निःशुल्क हुनेछ, र हरेक टोलीमा अधिकतम दुई जना सदस्य हुन सक्नेछन्। कार्यक्रमको सुरक्षा व्यवस्थापन नगर प्रहरी र स्वयंसेवकहरूले गर्नेछन्।
यो प्रतियोगितामा, हरेक टोलीले एक घण्टाभित्र सकेसम्म धेरै फोहोर संकलन गर्नुपर्नेछ। संकलित फोहोरलाई तौल गरेर सबैभन्दा धेरै फोहोर ल्याउने टोली विजेता घोषणा गरिनेछ। पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले क्रमशः ५०, २५, र १५ हजार नगद पुरस्कारका साथै मेडल पाउनेछन्।
सहभागी हुनका लागि मैना देवी फाउन्डेसनको वेबसाइटमा गएर अनलाइन फर्म भर्न सकिनेछ। साथै, रेसको दिन बिहानै तीनकुने मैदानमा पनि फर्म भर्ने सुविधा उपलब्ध हुनेछ।