Tuesday, May 20, 2025
Homeखेलकुदफेदीखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

फेदीखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

पोखरा: फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोलामा शिवशक्ति क्लबको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन गर्दै फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीले गाउँगाउँमा खेलकुद विकास गर्नुपर्ने पालिकाको सोच रहेको बताउँदै युवाहरूले खेलकुदमार्फत गाउँपालिकाको नाम उज्वल बनाउनुपर्नेमा जोड दिनुभयो। उपाध्यक्ष देउकुमारी गुरुङले खेलमा जस्तै व्यवहारिक जीवनमा पनि अनुशासनको महत्व रहने उल्लेख गर्नुभयो।

उद्घाटन कार्यक्रममा वडा नं. ३ का अध्यक्ष कृष्ण बहादुर रानाभाट, वडा नं. ४ का अध्यक्ष ख्यामनारायण पौडेल र वडा नं. १ का अध्यक्ष अमृत क्षेत्रीले शुभकामना मन्तव्य राखेका थिए।

प्रतियोगितामा ९ टिम सहभागी भएका छन्। आयोजक शिवशक्ति क्लबका ३ टिम, नेवि संघ फेदीखोलाका २ टिम तथा आरुखर्क, मट्टीखान, पातिहाल्ना र खड्केटारी क्षेत्रका १/१ टिम सहभागी छन्। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले खसी, ट्रफी र मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले दुईवटा कुखुराको भाले, ट्रफी र मेडल प्राप्त गर्नेछ, क्लबका कोषाध्यक्ष कुमार रानाभाटले जानकारी दिनुभयो।

भाटखोलाको माझखेत क्षेत्रमा खेतको गरामा भलिबल कोर्ट निर्माण गरी आयोजना गरिएको प्रतियोगितामा सयौं दर्शकको उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा अतिथिहरू तथा उनीहरूका आफन्तलाई सम्मान पत्र, खादा र अबिरले सम्मान गरिएको थियो।

त्यस्तै, फेदीखोला प्रहरी चौकी, भाटखोला स्वास्थ्य चौकी, शिवालय आमा समूह र सांस्कृतिक प्रस्तुति दिने कलाकारहरूलाई पनि कदरपत्र र प्रशंसा पत्र प्रदान गरिएको क्लब अध्यक्ष ताराबहादुर रानाभाटले जानकारी दिनुभयो।

कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष ताराबहादुर रानाभाटले गर्नुभएको थियो भने स्वागत मन्तव्य तथा प्रतियोगिताको विवरण क्लब सल्लाहकार कुलबहादुर रानाभाटले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन जनप्रिय माविका शिक्षक पदम बहादुर रानाभाटले गर्नुभएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका