Sunday, April 19, 2026
Homeखेलकुदप्लानिङ ब्वाइजको शानदार जित, रेडबुल इटहरी गोल्डकपको फाइनलमा प्रवेश

प्लानिङ ब्वाइजको शानदार जित, रेडबुल इटहरी गोल्डकपको फाइनलमा प्रवेश

विराटनगर । प्लानिङ ब्वाइज काठमाडौँले १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रंगशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न सेमिफाइनल खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो यूथ क्लब, ललितपुरलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको प्लानिङ ब्वाइजका लागि रोमन भुजेलले ५औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि फागुराम थारुले २९औँ, ३३औँ, ६४औँ र ६८औँ मिनेटमा लगातार चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। खेलको अन्त्यतिर प्रताप सिंह राईले ७८औँ मिनेटमा थप एक गोल गर्दै जित सुनिश्चित गरे।

सातदोबाटो यूथ क्लबका तर्फबाट सकल रेग्मीले ४७औँ मिनेटमा सान्त्वना गोल फर्काए पनि त्यसले खेलको नतिजामा कुनै प्रभाव पार्न सकेन।

उत्कृष्ट प्रदर्शन गरेका प्लानिङ ब्वाइजका फागुराम थारु ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको कार्यक्रम संयोजक अनुरोध थापाले जानकारी दिए।

प्रतियोगिताको फाइनल खेल आगामी सोमबार वैशाख ७ गते हुनेछ। विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, सर्वाधिक गोलकर्तालाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका