काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको अद्यावधिक विवरणअनुसार कोषका लागि स्वदेशका विभिन्न नौवटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ संकलन भएको छ।
त्यस्तै, कोषअन्तर्गत दुईवटा बैंकमा खोलिएका अमेरिकी डलर खातामा २ करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
यसैबीच, केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिएको छ।
उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत बाढीपीडितसम्म पुर्याउने गरी उपलब्ध गराइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।


