Friday, July 3, 2026
Homeखेलकुदप्रधानमन्त्री कप भलिबल लिग पहिलोपटक पोखरामा, तयारी अन्तिम चरणमा

प्रधानमन्त्री कप भलिबल लिग पहिलोपटक पोखरामा, तयारी अन्तिम चरणमा

कास्की: देशको पर्यटकीय सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग आयोजना हुने भएको छ। पहिलोपटक राजधानी बाहिर हुँदै गरेको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुनेछ।

नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। खेलाडीहरू पोखरा आउन थालेका छन् भने कभर्डहलको मर्मतसम्भार पनि अन्तिम चरणमा पुगेको छ। प्रतियोगितामा खेलस्तर उकास्न प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी सम्म राख्न सक्ने व्यवस्था गरिएको छ।

पुरुषतर्फ आठ र महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, आर्मी, पुलिस, कोशी, गण्डकी, सुदूरपश्चिम र मणिमुकुन्द क्लब सहभागी हुनेछन्। महिलातर्फ एपिएफ, पुलिस, न्यू डायमण्ड, आर्मी, एभरेष्ट र कर्णाली प्रदेशको टोली रहनेछ।

त्रिपुरेश्वर कभर्डहल मर्मत भइरहेकोले पोखरा वैकल्पिक स्थानका रूपमा रोजिएको हो। नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठका अनुसार महिला र पुरुष दुबै विजेताले जनही रु ८ लाख, उपविजेताले रु ४ लाख, र तृतीय हुनेले रु २ लाख पुरस्कार पाउने छन्। सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार दिइनेछ।

अध्यक्ष चन्दले राष्ट्रिय खेल भलिबलको व्यवसायिकरण र युवाहरूलाई आकर्षित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताए। “पोखरामा भलिबलप्रतिको आकर्षण, खेलप्रेमीको साथ र पर्यटन प्रवर्द्धनले प्रतियोगितालाई सफल बनाउने विश्वास लिएका छौँ,” उनले भने।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका