काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
यस्तै, प्रधानमन्त्री बालेन शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) संसदमा पेस गर्नेछिन्।
बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
मन्त्री गौतमले नै संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पनि संसदमा पेस गर्ने कार्यसूची रहेको छ।


