Monday, January 20, 2025
Homeमनोरन्जनप्रतिक बब्बरले बनाए आमाको नामको ट्याटु, ३१ वर्षको उमेरमा उनलाई जन्म दिएपछि...

प्रतिक बब्बरले बनाए आमाको नामको ट्याटु, ३१ वर्षको उमेरमा उनलाई जन्म दिएपछि भएको थियो नायिका स्मिता पाटिलको निधन

बलिउड नायक प्रतिक बब्बर आफ्नो नयाँ ट्याटुका कारण चर्चामा छन् । उनले आफ्नो छातीमा आमा स्मिता पाटिलको नामको ट्याटु बनाएका छन् । प्रतिकले यो ट्याटुको तस्बिर सोसल मिडियामा सेयर गरेका छन् । स्मरण रहोस्, प्रतिकलाई जन्म दिएको केही दिनपछि नै स्मिताको निधन भएको थियो । त्यतिबेला उनी ३१ वर्षकी मात्रै थिइन् ।

एक अन्तरवार्तामा प्रतिकले आफ्नी आमाबारे धेरै कुरा सेयर गरेका थिए । उनले भनेका थिए, ‘मेरी आमा गिफ्टेड महिला थिइन् । उदाहरणको रुपमा भन्ने हो भने सचिन तेन्दुलकरको जन्म क्रिकेटको भगवान बन्नका लागि भएकमो थियो । ठिक त्यसरी नै आमाको जन्म अभिनेत्री बन्नकै लागि भएको थियो । उनको यति चाँडै निधन हुनु भारतीय सिनेमाका लागि निकै ठूलो हानी भयो ।’

प्रतिकले भनेका थिए, ‘आमा बारे किस्सा कहानी मात्रै सुनेको छु । फिल्म र उनको अन्तरवार्ताको क्लिपिङ देखेर नै उनीबारे एउटा धारणा बनाउन पाएको छु । उनको हरेक कुरा सिक्न लायक छ । उनको हरेक कुरा भावनात्मक थियो । म सायद व्यक्त गर्न सक्दिनँ होला । सबै कुराले दुःखी मात्रै बनाउँछ भन्ने पनि छैन । उनीबारे यस्ता थुप्रै पाटन छन् जसले निकै खुसी दिन्छन् । अनुहार र मन दुबै प्रफुल्ल हुन्छन् । उनलाई मन पराउने र निकै नजिकका मानिसहरुले बताए अनुसार उनी निकै मस्ती गर्नुपर्ने र स्वतन्त्र धारणा भएकी महिला थिइन् । एकपटक त उनले घुम्न जानका लागि हजुरबुवाको जीप चोरेर भागेकी थिइन् ।’

प्रतिक भन्छन्, ‘उनी निकै साहसी थिइन् । यो सबै सुनेर निकै राम्रो महसुस हुन्छ । उनी बारे हरेक शब्द निकै मूल्यवान् छ । हुन त मलाई उनको सबै फिल्म मन पर्छ तर शक्ति, नमक हलाल मलाई असाध्यै मनपर्छ । म उनलाई पर्फमरको रुपमा जज गर्न सक्दिनँ । मेरो पूरा अस्तित्व नै उनकै कारण हो । अब उनीसँग मेरो आँखा मिल्छ वा अनुहारको कुन हिस्सा आमाजस्तो देखिन्छ भन्नेबारे त अगाडिको मानिसले नै भन्न सक्छ । उनको छोरा भएपछि त अलिकति उनीजस्तो त देखिन्छु नै ।’

‘काश म छोरीको रुपमा जन्मिएको भए आमाको कुनै फिल्मको रिमेकमा उनको भूमिका निर्वाह गर्दथेँ । आमाको काखमा टाउको राखेर आफ्नो मनको कुरा भन्न पाएको भए भन्ने लाग्छ । जब हजुरआमा–हजुरबुवा बित्नुभयो तब असाध्यै एक्लो महसुस भयो । उनको मास्टरपिस ‘अर्थ’ को रिमेकको कुरा मैले सुनेको थिएँ । मलाई त्यो अफर पनि भएको थियो ।’

हरेक वर्ष १७ अक्टोबरमा स्मिता पाटिलको जन्मदिन कसरी मनाइन्छ ? यसबारे प्रतिकले भनेका थिए, ‘आमाको जन्मदिनमा हामी सबैजना दुःखी नै हुनुपर्छ भन्ने आवश्यक छैन । समग्र रुमिा निकै सकारात्मक र विशेष दिन हुन्छ यो । हामी सबै परिवार त्यस दिन जम्मा हुन्छौं । सेलिब्रेसन त गर्दैनौं डिनर चाहिँ गर्छौं ।’

१७ अक्टोबर सन् १९५५ मा पुणेमा जन्मिएकी स्मिता १३ डिसेम्बर सन् १९८६ मा ३१ वर्षको उमेरमा सुत्केरी भएपछि देखिएको जटिलताका कारण संसारबाट बिदा भइन् । उनको निधन मुम्बईमा भएको थियो । उनी राज बब्बरकी दोस्रो श्रीमती थिइन् । उनको मृत्युपछि राज बब्बर आफ्नी जेठी श्रीमतीकोमा फर्किए र प्रतिकलाई उनका मामाघरका हजुरबुवा–हजुरआमाले हुर्काएका थिए ।

रातोपाती बाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका