काठमाडौं । नेता झलनाथ खनालले नेपाल कम्युनिस्ट पार्टीको एकतामा आफ्नो सहभागिता पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति रहेको विश्वासका कारण भएको बताएका छन् ।
बुधबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सभामा सम्बोधन गर्दै उनले सहमतिमा ढिलाइ हुनुको कारण स्पष्ट पार्दै भने, “ढिला आउनुको केही कारण छन्। मैले कमरेड प्रचण्डलाई भनिसकेको छु — हामी ती कुराहरू मिलाउँछौं भनेर उहाँले प्रतिबद्धता जनाउनुभएको छ। त्यस विश्वासका आधारमा, केही विमति भए पनि अहिले एकताको कुनै विकल्प छैन। त्यसैले एकतालाई सुदृढ बनाउन म यहाँ आएको हुँ। सिंगो नेपालको एकता आजको आवश्यकता हो।”
उनले अब पार्टी कहिल्यै फुट्न नदिन नेताहरूले संकल्प गर्नुपर्नेमा जोड दिए । साथै, नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्न आग्रह गरे ।
खनालले थपे, “आज मञ्चमा उपस्थित सबैले पार्टी कहिल्यै फुट्ने छैन भनेर संकल्प गरौं। अघिल्ला एकता प्रयासहरूमा कमजोरी देखियौं, अब त्यस्तो हुँदैन भनौं। जेनजीको भावनालाई आत्मसात गर्दै, नेतामुखी होइन, जनमुखी र वर्गमुखी पार्टी निर्माण गरौं। कम्तीमा ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याएर बलियो पार्टी बनाऔं।”


