काठमाडौं । चार पटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
अमेरिकाको बोस्टनमा मंगलबार बिहान सम्पन्न रोमाञ्चक राउन्ड अफ ३२ को खेलमा पाराग्वेले सडनडेथमा जर्मनीलाई ४–३ ले हराउँदै ऐतिहासिक सफलता हासिल गरेको हो।
विश्वकप इतिहासमा पेनाल्टी सुटआउटमा जर्मनी पराजित भएको यो पहिलो अवसर हो। साथै, पाराग्वेले सन् २००२ को विश्वकपमा जर्मनीसँग ब्यहोरेको हारको २४ वर्षपछि बदला लिन पनि सफल भएको छ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट नतिजा तय भएको यो पहिलो खेलसमेत हो।
पाराग्वेका लागि ४२औँ मिनेटमा जुलियो इन्सिस्सोले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। जर्मनीका काई हाभार्ट्सले ५४औँ मिनेटमा बराबरी गोल फर्काउँदै खेललाई पुनः प्रतिस्पर्धात्मक बनाए।
अतिरिक्त समयको १०२औँ मिनेटमा जर्मनीका जोनाथन ताहले गरेको गोल भिडियो सहायक रेफ्री (VAR) ले फल भएको ठहर गर्दै रद्द गरेपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो।
पेनाल्टीमा दुवै टोलीका गोलकिपरले उत्कृष्ट प्रदर्शन गरे। सुरुआती पाँच–पाँच प्रहारपछि स्कोर ३–३ को बराबरीमा पुगेको थियो। त्यसपछि सडनडेथमा जोनाथन ताहको प्रहार पोस्टमाथिबाट बाहिरिएपछि पाराग्वेका जोसे क्यानालेले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।
यो हारसँगै जर्मनी सन् २०१४ मा विश्वकप उपाधि जितेयता नकआउट चरणमा जित निकाल्न असफल रह्यो। पछिल्ला दुई संस्करणमा समूह चरणबाटै बाहिरिएको जर्मनी यस पटक १२ वर्षपछि नकआउट चरणमा पुगे पनि पहिलो खेलमै प्रतियोगिताबाट बाहिरिएको छ।
यता, पाराग्वेले विश्वकप इतिहासमा दोस्रो पटक नकआउट चरण पार गर्न सफल भएको छ। अब पाराग्वेले क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


