काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन शुभकामना व्यक्त गरेका छन्। शुक्रबार राजधानीमा आयोजित नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित पुस्तक आमा, सपना र ताराहरू सार्वजनिक समारोहमा बोल्दै उनले ठट्यौली शैलीमा भण्डारीलाई राजनीतिमा फर्किन शुभकामना दिएका हुन्।
पूर्वराष्ट्रपति भण्डारी फेरि एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चाको सन्दर्भमा शर्माले सक्रिय राजनीतिमा आउने वा नआउने विषय पूर्ण रूपमा भण्डारीकै स्वविवेकमा निर्भर रहेको बताए। उनले भने कि यदि भण्डारीले यस विषयमा आफ्नो सुझाव मागे, उनी सामाजिक अभिभावकको भूमिकामा रहन सल्लाह दिनेछन्।
‘पूर्वराष्ट्रपति सामाजिक परिवर्तनको प्रेरक बन्न सक्नुपर्छ। मेरो शुभकामना छ। सक्रिय राजनीतिमा फर्किन इच्छुक हुनुहुन्छ भन्ने चर्चा चलिरहेको छ। तर, शीतल निवासबाट बाहिरिएपछि कसैले सोध्यो भने मेरो जवाफ हुनेछ— यस देशलाई सामाजिक अभिभावकको खाँचो छ। कुनै आमाहरूले विगतको पीडा पुनः भोग्न नपरोस्,’ शर्माले भने।