Friday, February 7, 2025
Homeसूचना प्रविधिपिएसबीको अन्तरराष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँः डा विष्ट

पिएसबीको अन्तरराष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँः डा विष्ट

काठमाडौँ: नेपालको पहिलो टेलिभिजन प्रसारण संस्था नेपाल टेलिभिजनले आफ्नो ४०औँ वार्षिकोत्सव मनाएको छ। संविधानसभाबाट जारी नेपालको संविधान २०७२ र राष्ट्रिय आमसञ्चार नीति २०७३ अनुसार सार्वजनिक सेवा प्रसारणको स्थापना गरी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रूपान्तरण गर्ने व्यवस्था भएको थियो।

हालै संघीय संसद्बाट पारित विधेयक र राष्ट्रपतिबाट प्रमाणीकरण भएको सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ अनुसार नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भइसकेका छन्।

नेपाल टेलिभिजनको वार्षिकोत्सवको अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा टेलिभिजनको ऐतिहासिक योगदान र आगामी योजनाबारे जानकारी गराए।

डा. विष्टका अनुसार, सार्वजनिक सेवा प्रसारण (PSB) को अवधारणा राजनीतिक तटस्थता, व्यापारिक स्वार्थबाट स्वतन्त्रता, र नागरिकको हितलाई ध्यानमा राखेर कार्यक्रम उत्पादनमा केन्द्रित हुनेछ। उनले भने, “हामी राष्ट्रिय एकता, विपद् व्यवस्थापन, र समृद्धिलाई प्राथमिकतामा राखेर विषयवस्तु विकास गर्दैछौँ।”

नेपाल टेलिभिजनलाई अझ प्रभावकारी बनाउन तीनवटा प्लेटफर्म— रेडियो, टेलिभिजन र डिजिटल प्रसारणलाई समानान्तररूपमा अघि बढाइने योजना रहेको डा. विष्टले बताए।

आर्थिक व्यवस्थापनको चुनौतीबारे उनले भने, “विश्वव्यापी अभ्यासमा सार्वजनिक सेवा प्रसारकका लागि राज्यको अनुदान, व्यापारिक आय, र बाह्य सहयोग मुख्य स्रोत हुन्। हामी मिश्रित (हाइब्रिड) मोडललाई प्राथमिकता दिनेछौँ।”

एनटिभी वर्ल्ड च्यानलको सञ्चालन र भविष्यमा व्यूरो विस्तारका योजना पनि रहेको उनले जनाए।

सार्वजनिक सेवा प्रसारणको अवधारणा अनुरूप नेपाल टेलिभिजनले सूचना, शिक्षा र मनोरञ्जनका माध्यमबाट नागरिक सेवाको भूमिका निर्वाह गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका