नवलपरासी: पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा सञ्चालित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडमा करिब ८५ लाख ८० हजार रुपैयाँ हिनामिना भएको खुलेको छ। संस्थाको सञ्चालक समितिका १५ सदस्यको मिलेमतोमा यस्तो अनियमितता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सहकारी रकम हिनामिनासम्बन्धी मुद्दा जिल्ला अदालत, नवलपरासीमा दर्ता भइसकेको छ। सो मुद्दामा प्रतिवादी सुरेश चौधरी (कुर्मी), वीरेन्द्रकुमार यादव र रामसेवक चौधरी (कुर्मी) जनही रु ५ लाख धरौटी राखेर तारेखमा बसेका छन्।
जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले बाँकी १२ जना प्रतिवादी — अध्यक्ष राजकिसोर गुप्ता (तेली), उपाध्यक्ष नाथु माली, सदस्य कमलादेवी कहार, सञ्जय कुर्मी, रवीन्द्र पासी, लेखा संयोजक सन्तराम यादव, जानकी देवी कुर्मी, इजहार धुनिया, प्रमोद यादव, सुग्रिम तिवारी, रामानन्द यादव र व्यवस्थापक मुनलाल यादव — अहिलेसम्म अदालतमा हाजिर नभएको जानकारी दिनुभयो।
“अदालतले १५ जना प्रतिवादीलाई पक्राउ पुर्जीसहित ३५ दिनभित्र उपस्थित हुन पत्र पठाएको छ,” खनालले बताए।
जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी काशीराम लोधका अनुसार सो सहकारी संस्थाविरुद्धको जाहेरी मुस्तफा शेखले दाङ (देउखुरी) मा रहेको राप्ती उपत्यका सहकारी दर्ता कार्यालयमा दर्ता गराएका थिए। जाहेरीका आधारमा नेपाल सरकार वादी भई जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
सहकारी ऐन, २०७४ को दफा १२४ अनुसार, सहकारी रकम हिनामिना गरेमा बिगो बराबरको जरिवाना र अधिकतम तीन वर्षसम्म कैद सजायको व्यवस्था रहेको लोधले बताए।