Sunday, April 12, 2026
Homeखेलकुदपाम र एमएमएसीलाई अन्तर्राष्ट्रिय जुडोमा टिम च्याम्पियनको उपाधि

पाम र एमएमएसीलाई अन्तर्राष्ट्रिय जुडोमा टिम च्याम्पियनको उपाधि

काठमाडौं । बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेका छन्। पाम जुनियरतर्फ तथा एमएमएसी क्याडेटतर्फ च्याम्पियन बन्न सफल भएका हुन्।

नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा सम्पन्न प्रतियोगितामा पामले ४ स्वर्ण र १ रजत जित्दै शीर्ष स्थान हात पार्यो। २ स्वर्णसहित बङ्गलादेश क्रिरा शिखा प्रतिष्ठान दोस्रो तथा १ स्वर्ण र ३ रजतसहित दाङ जुडो डोजो तेस्रो स्थानमा रहे।

नेपाल खेलकुद महासङ्घ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो सङ्घ नेपालद्वारा आयोजित प्रतियोगिताको क्याडेटतर्फ एमएमएसीले ६ स्वर्ण, ५ रजत र ८ कांस्य जित्दै टिम च्याम्पियन बन्यो। ५ स्वर्ण, ३ रजत र ४ कांस्यसहित पाम दोस्रो तथा ३ स्वर्ण, १ रजत र २ कांस्यसहित भुटानको पेल्खिल डोजो क्लब तेस्रो भयो। जुनियर र क्याडेट दुवै समूहमा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको जुनियर पुरुषतर्फ पामका सविनकुमार दियाली तथा महिलातर्फ बङ्गलादेशकी फबिहा बुश्रा उत्कृष्ट खेलाडी घोषित भए। क्याडेट पुरुषतर्फ एमएमएसीका प्रिन्स विक र महिलातर्फ भुटानकी तान्डिन दोर्जी वाङमो उत्कृष्ट खेलाडी चुनिए। उत्कृष्ट चारै खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाए भने कविराम घर्ती मगर उत्कृष्ट निर्णायक घोषित भए।

प्रतियोगिताको अन्तिम दिन आइतबार जुनियरतर्फ ९ स्पर्धाका फाइनल खेल सम्पन्न भएका थिए। पुरुषतर्फ ५५ केजीमुनि एमएमएसीका शिव बराइली, ६६ केजीमुनि पामका दीपेश गुरुङ, ८१ केजीमुनि रेशन बस्नेत, ९० केजीमाथि गण्डकी जुडोका विज्ञान टीखत्री, ६० केजीमुनि पामका सविनकुमार दियाली र ७३ केजीमुनि बङ्गलादेशका साहिन अहमदले स्वर्ण जिते। महिलातर्फ ४४ केजीमुनि पामकी रमा समत, ५२ केजीमुनि पामकै निशा श्रेष्ठ र ७० केजीमाथि बङ्गलादेशकी फबिहा बुश्रा विजेता बने।

विजेताहरूलाई त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका प्रमुख पशुपति अधिकारी, प्रा. डा. रामकृष्ण महर्जन तथा आयोजक सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरे। सो अवसरमा जुडोका अग्रजमध्येका एक खड्गबहादुर दाहाललाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका