काठमाडौं । नेपाल रग्बी सङ्घको १३औँ वार्षिक साधारण सभाले १ करोड ३५ लाख रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। सभामा सङ्घका कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पनि सर्वसम्मतिले अनुमोदन गरिएको हो। अधिकारीले आगामी वर्षका लागि १ करोड ७ लाख रुपैयाँको अनुमानित बजेटसमेत प्रस्तुत गरेका थिए।
सातै प्रदेश, ५८ जिल्ला तथा सातवटा राष्ट्रिय क्लबका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न साधारण सभामा सङ्घका अध्यक्ष दीपक देवकोटाले सङ्घको दायरा विस्तार गर्दै विदेशमा समेत शाखा स्थापना गर्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावलाई साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको छ।
सभामा महासचिव गोविन्द घिमिरेले यस वर्षको कार्य प्रगति विवरण तथा आगामी वर्षका योजना प्रस्तुत गरे। उनका अनुसार नेपाल रग्बी टोलीले यस वर्ष बङ्गलादेशमा सम्पन्न रग्बी सिरिज जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो। साथै दशरथ रङ्गशालामा १७ देशको सहभागितामा पुरुष तथा महिला एसिया रग्बी प्रतियोगिता आयोजना गरिएको थियो, जसमा नेपाली महिला टोलीले उज्बेकिस्तानलाई पराजित गर्न सफल भएको थियो।
महासचिव घिमिरेले प्रस्तुत गरेको २०२६ को भावी योजनामा विद्यालय तहका प्रतियोगितालाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।
यसअघि साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव राम चरित्र मेहताले गरेका थिए। सो अवसरमा उनले वर्ष २०२५ का उत्कृष्ट पुरुष रग्बी खेलाडी नेपाली सेनाका नवीन बहादुर मगर तथा उत्कृष्ट महिला खेलाडी नेपाली सेनाकै मनीषा घिसिङलाई सम्मान तथा पुरस्कृत गरे।
त्यसैगरी, हालै राखेपमा सदस्य नियुक्त भएका नेपाल रग्बी सङ्घका सदस्य सन्त कुमार मेहता र अञ्जना श्रेष्ठ मास्के तथा मधेस प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य निशेष कुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।


