Friday, June 19, 2026
Homeखेलकुदनेपाल यू-१९ महिला विश्वकपमा छनोट

नेपाल यू-१९ महिला विश्वकपमा छनोट

काठमाडौँ: नेपालको महिला यू-१९ टोलीले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै आगामी जनवरी-फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपका लागि छनोट पक्का गरेको छ।

आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपालले युएईलाई ८ विकेटले हरायो र रनरेटमा सुधार गर्दै विश्वकपमा स्थान सुरक्षित गर्यो। चार टोलीबीचको छनोटमा नेपाल र युएई दुवैले १०-१० अंकका साथ ५-५ खेल जिते। नेपालको रनरेट ३.९ रहेको थियो भने युएईको ३.७, जसले गर्दा नेपाल अघि रह्यो।

दुवै टोलीले एक-एक खेल गुमाए। पहिलो चरणमा युएईले नेपाललाई पराजित गरेको भए पनि, बुधबारको खेलमा नेपालले जित निकालेर रनरेटमा अग्रता बनायो।

अन्तिम खेलमा युएईले दिएको ८४ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १४.४ ओभरमै पूरा गर्‍यो, जसले नेपाललाई रनरेटमा फाइदा गरायो। ओपनर सना प्रवीनले नटआउट ३५ रन र सोनी पाख्रिनले नटआउट १३ रन बनाउँदै टोलीलाई जित दिलाए। अर्की ओपनर सावित्री धामीले १२ रन र कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन्।

यसअघि, अजमानको द सेभेन्स रंगशालामा टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन मात्र बनायो। युएईका लागि समइरा धर्नीधर्काले सबैभन्दा बढी ३१ रन जोडे। बलिङमा नेपालकी कृष्मा गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा १७ रन दिएर चार विकेट लिइन्। यसमा उनले १८औं ओभरमा तीन विकेट लिँदै खेल नेपालतर्फ मोडिन्। रिया शर्मा र सीमा केसीले पनि नेपालका लागि दुई-दुई विकेट लिए।

एसिया छनोटमा शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुने प्रावधानअनुसार नेपाल सफल भयो। यसअघि नेपालले थाइल्याण्डलाई ६७ रनले, कुवेतलाई १०८ रनले, र थाइल्याण्डलाई चौथो खेलमा १०६ रनले पराजित गरेको थियो। यस्तै, अन्तिम खेलमा कुवेतलाई १६५ रनको फराकिलो अन्तरले हरायो।

अब नेपालले मलेसियामा हुने विश्वकपमा समूह ‘डी’ मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। सन् २०२३ देखि सुरु भएको यू-१९ महिला विश्वकपको यो दोस्रो संस्करण हो, र नेपाली महिला युवा टोलीको लागि यो पहिलो विश्वकप सहभागिता हुनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका