Saturday, October 24, 2026
Homeखेलकुदनेपालको नेदरल्याण्डमाथि ६ विकेटको जित

नेपालको नेदरल्याण्डमाथि ६ विकेटको जित

काठमाडौं। स्कटल्यान्डमा जारी टि–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।

टिटउट रंगशालामा भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौकाको मद्दतमा ६५ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे। त्यसैगरी आरिफ शेखले २३ बलमा ३ चौका र २ छक्का सहित ३९ रन बनाएर ‘रिटायर्ड हर्ट’ भए। भीम शार्कीले २७, दीपेन्द्र सिंह ऐरीले १६ तथा लोकेश बमले १२ रनको योगदान दिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। टोलीका लागि माइकल लेभिटले ५३ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ८६ रन जोडे। रेलोफ भान डेर मर्वेले ३६ र आर्यन दत्तले १७ रन बनाए।

बलिङतर्फ नेपालका करण केसीले २ विकेट लिए। त्यस्तै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले एक/एक विकेट लिए।

यसअघिका खेलमा नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरसम्म पुगेको संघर्षपूर्ण खेलमा पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका