काठमाडौं । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस अहिले नेतृत्व परिवर्तनपछि पनि आन्तरिक शक्ति संघर्षको चपेटामा देखिएको छ। २०८२ पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि पार्टीमा नयाँ ऊर्जा आउने अपेक्षा गरिएको थियो। तर केही महिनामै पार्टीभित्र तीनवटा समानान्तर शक्ति केन्द्र सक्रिय बनेका छन्।
सभापति गगन थापाले पार्टीलाई परम्परागत गुटबन्दीबाट मुक्त गर्दै नीति र विचारमा आधारित संगठन निर्माण गर्ने अभियान थालेका छन्। पार्टीको ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ मार्फत सातै प्रदेशमा ‘नीति भेला’ आयोजना भइरहेका छन्।
हालै सुर्खेत र धनगढीमा सम्पन्न भेलाले स्थानीय सरकारलाई सुशासनयुक्त, पारदर्शी र नागरिकमैत्री बनाउने प्रस्ताव अघि सारेका छन्। सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेलको टोली ‘समुन्नत नेपाल’ निर्माणका लागि गाउँ र नगरको विकासलाई केन्द्रमा राखेर अघि बढिरहेको छ।
यद्यपि, नेतृत्व परिवर्तन भए पनि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष अझै पार्टीभित्रको सबैभन्दा बलियो र संगठित समूहका रूपमा सक्रिय छ। देउवा समूहले आधिकारिक नीति भेलाको समानान्तर रूपमा आफ्नै प्रदेशस्तरीय भेला सञ्चालन गरिरहेको छ।
कोशी प्रदेशस्तरीय भेला विराटनगरमा सम्पन्न भइसकेको छ भने बागमती प्रदेशस्तरीय भेला काठमाडौंमा आयोजना गर्ने तयारी गरिएको छ। नेता मीन विश्वकर्माका अनुसार यी भेलाहरूको उद्देश्य १५औँ महाधिवेशनको तयारी र निराश कार्यकर्तालाई पुनः सक्रिय बनाउनु हो।
देउवा समूहले कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. प्रकाशशरण महतजस्ता प्रभावशाली नेताहरूलाई प्रदेश समन्वयको जिम्मेवारी दिएको छ। यसले देउवा पक्ष आफ्नो प्रभाव पुनः मजबुत बनाउन सक्रिय रहेको संकेत गरेको छ।
उता, डा. शेखर कोइराला समूह पनि आफूलाई उपेक्षित महसुस गरिरहेको छ। विशेष महाधिवेशनमा स्पष्ट अडान नलिएको यो समूह पछिल्लो समय सभापति थापाले गरेको १९ जना केन्द्रीय सदस्यको मनोनयनप्रति असन्तुष्ट बनेको छ।
मनोनयनमा आफ्नै पक्षका सात जना नेता समावेश भए पनि निर्णय प्रक्रियामा परामर्श नगरिएको भन्दै डा. कोइरालाले असन्तुष्टि जनाएका छन्। विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको बैठकले यो समूह पनि १५औँ महाधिवेशनमा निर्णायक शक्ति बन्ने तयारीमा रहेको देखाएको छ।
तीन शीर्ष नेताका फरक–फरक गतिविधिले कार्यकर्तामाझ पार्टी विभाजनको आशंका बढे पनि राजनीतिक विश्लेषकहरू भने यसलाई आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धाका रूपमा हेर्छन्।
कांग्रेसको इतिहासमा महाधिवेशनअघि यस्ता शक्ति संघर्ष सामान्य मानिने गरिन्छ। अहिलेको प्रतिस्पर्धा वैचारिकभन्दा पनि आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने केन्द्रित देखिएको छ।
विश्लेषकहरूका अनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरे पनि पुरानो संस्थापन पक्ष र नयाँ नेतृत्वबीचको दूरी अझै घट्न सकेको छैन। आगामी १५औँ महाधिवेशनसम्म तीनै धारबीच सहमति र समन्वय हुन नसके पार्टीलाई सांगठनिक क्षति पुग्न सक्ने जोखिम रहेको छ।
कांग्रेसभित्र अहिलेको मुख्य चुनौती पार्टीलाई विभाजनतर्फ जान नदिई एउटै राजनीतिक लक्ष्य र साझा धारमा एकीकृत राख्नु भएको राजनीतिक वृत्तमा चर्चा छ।


