६ जेठ, काठमाडौं । सरकारले कोरोनाभाइरसको महामारी नियन्त्रणको लागि भन्दै वैशाख दोस्रो सातादेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञाको समयमा पनि कालीमाटी तरकारी तथा फलफूल बजारमा भने दिनहुँ तरकारी खरिद बिक्रीकर्ताको भीड लाग्ने गरेको छ । बिहानै नाकसमेत नछोपिने गरी मास्क लगाएर आएका व्यवसायी एवं अन्यले कालीमाटीमा दैनिक मेला लाग्ने गर्छ ।
प्रहरी माइकिङ गर्दै आउँछ । एकैछिन तितरवितर भएजस्तो हुन्छ, त्यसपछि फेरि जात्रामा जस्तै भेला हुन्छन् त्यहाँ उपस्थित भएकाहरु । कालीमाटी प्रहरी वृत्तका डीएसपी अपिल बोहोरा कालीमाटीमा तरकारी किन्न आउनेहरुलाई जति आग्रह गर्दा पनि त्यहाँको भीड नियन्त्रण गर्न नसकिएको बताउँछन् । ‘अस्ति त हामीले लाठीचार्ज नै गर्नुपर्यो।’ बोहोरा भन्छन् ‘त्यही बजारमा १२ जना संक्रमित भेटियो भन्दा पनि कोही डराउँदैनन् ।’