Saturday, January 18, 2025
Homeराजनीतिनिर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्छः महामन्त्री थापा

निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्छः महामन्त्री थापा

गण्डकी: नेपाली कांग्रेसका महामन्त्री गगनकुुमार थापाले २०८४ को निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित ‘प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि’ विषयक प्रदेशस्तरीय गोष्ठी उद्घाटन गर्दै उहाँले निर्वाचनमा जाँदा उपलब्धिपत्रका साथ प्रस्तुत हुन निर्वाचित जनप्रतिनिधिहरूलाई परिणाममुखी काम गर्न आग्रह गरे।

महामन्त्री थापाले निराश हुने अवस्था नरहेको भन्दै आगामी तीन वर्षभित्र जनताले स्पष्ट अनुभव गर्नेगरी क्रियाशील हुनुपर्ने धारणा व्यक्त गरे। “कांग्रेसको नेतृत्वमा देशले धेरै उपलब्धि हासिल गरेको छ, तर ती कामको प्रचार हुन सकेको छैन। अब थप उपलब्धिका लागि सरकारको जिम्मेवारीमा रहेका सबैले परिणाममुखी काम गर्नुपर्छ। त्यही कामको विवरण लिएर आगामी चुनावमा जनतामाझ जान तयारी गरौँ,” उनले भने।

पार्टी संगठन र निर्वाचित जनप्रतिनिधिबीच संवाद आवश्यक भएको उल्लेख गर्दै थापाले संवादले जनअपेक्षा सम्बोधन गर्न सहयोग पुग्ने बताए। समस्या मात्र सुन्ने होइन, समाधान दिन सक्ने अवस्था सिर्जना गर्न संवादलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

महामन्त्री थापाले पार्टीको काँधमा धेरै जिम्मेवारी रहेकाले आगामी १५औँ महाधिवेशनले पार्टी संगठन सम्हाल्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताए। उनले कार्यकर्ताहरूलाई आगामी चैतभित्र क्रियाशील सदस्यता नवीकरण गर्न निर्देशन दिँदै यसमा ढिलाइ भएमा सदस्यता स्वतः रद्द हुने चेतावनी पनि दिए। “चैतसम्म नवीकरण नगर्ने क्रियाशील सदस्यता त्यसपछि नवीकरण हुँदैन। समयभित्र फारम नपठाउने जिल्लाहरूको क्रियाशील सदस्यता फारम फ्रिज हुनेछ,” उनले स्पष्ट पारे।

पार्टी विधान संशोधनका लागि करिब पाँच महिना लाग्ने र त्यसपछि विधान महाधिवेशनबाट पारित गरी महाधिवेशनको प्रक्रिया अघि बढाइने जानकारी पनि थापाले दिए।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टी नेतृत्वको सरकारले गरेका कामको प्रचार हुन नसकेको भन्दै पार्टीले त्यसमा ध्यान दिनुपर्ने बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जाललाई संगठन निर्माण र राम्रो कामको प्रचारका लागि उपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूमा डा. रघुराज वाग्ले र डा. हेमराज लामिछानेले निर्वाचित जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्ने औँल्याए।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको सभापत्विमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, केन्द्रीय सदस्य मधु आचार्य, कृष्णचन्द्र नेपाली, र गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)लगायतले सम्बोधन गरे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका