Tuesday, June 23, 2026
Homeअर्थ र ब्यापारनिजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ : मन्त्री खड्का

निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ : मन्त्री खड्का

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागितामा आधारित ऊर्जा विकासका योजनामा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। मनाङको नासोङ गाउँपालिका–२ मा निर्माणाधीन ४९.९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर समारोहमा शुक्रबार साँझ बोल्दै उहाँले सरकार र निजी क्षेत्रको सहकार्यबाट ऊर्जा विकासको लक्ष्य पूरा गरिने उल्लेख गर्नुभयो।

“सरकारले जलविद्युत्लाई आम्दानीको प्रमुख स्रोतका रूपमा लिएको छ। स्रोतहरूको अधिकतम उपयोग गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्दै ऊर्जा क्षेत्रमा काम अघि बढाइँदैछ,” मन्त्री खड्काले भन्नुभयो। उहाँले आयोजना रोकेर बस्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

ऊर्जामन्त्री खड्काले गरिब र विपन्न जनताको पहुँच वृद्धि गर्न न्यूनतम ब्याजदरमा शेयर खरिदको व्यवस्था सरकारले गर्न लागेको जानकारी दिनुभयो। देशका अधिकांश भागमा मोटरबाटो पुगेकाले जलविद्युत् आयोजना निर्माण कार्यमा समय कम लाग्ने उहाँले बताउनुभयो।

उहाँले छिमेकी मुलुक भारत लगायत अन्य देशहरूले नेपालबाट विद्युत् आयात गर्न थालेकोले बजार सुनिश्चित रहेको र यसले लगानीकर्तालाई थप उत्साह दिनुपर्ने धारणा राख्नुभयो। ऊर्जा क्षेत्रलाई सक्रिय बनाउन ठोस कदम चाल्नुपर्ने आवश्यकता पनि उहाँले जोड दिनुभयो।

सांसद टेकबहादुर गुरुङले आयोजना समयमै सम्पन्न हुने गरी लगानीकर्तालाई काम गर्न आग्रह गर्नुभयो। उहाँले मनाङलाई कृषि, पर्यटन र जलस्रोतको धनी जिल्ला बनाएर समृद्ध बनाउन मोटरबाटोको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा विधेयकलाई परिमार्जन गरी अघि बढाए मात्र १० वर्षभित्र २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य हासिल हुने विश्वास व्यक्त गर्नुभयो।

मनाङको नासोङ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारी र शेयर सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो।

दानाखोला जलविद्युत् आयोजना विसं २०८४ कात्तिक २ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनामा मुख्य लगानी सानिमा बैंकको रहेको छ। वित्तीय व्यवस्थापनका लागि सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले हस्ताक्षर गर्नुभएको छ।

लालुपाते हाइड्रोपावरका अध्यक्ष डाँगीले करिब रु ९.९६ अर्बको लागतमा दानाखोला जलविद्युत् आयोजना निर्माण गरिने जानकारी दिनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका