Saturday, September 19, 2026
Homeअर्थ र ब्यापारनेपालमा विद्युतीय कार आयात घट्यो, इन्धन सवारीतर्फ आकर्षण बढ्यो

नेपालमा विद्युतीय कार आयात घट्यो, इन्धन सवारीतर्फ आकर्षण बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालमा विद्युतीय कार (ईभी) को आयात घटेको छ भने इन्धनबाट चल्ने सवारी साधनप्रति आकर्षण बढेको देखिएको छ।

भन्सार विभागका अनुसार साउनदेखि जेठसम्म कुल १५ हजार ४६६ युनिट कार, जिप र भ्यान आयात भएका छन्, जुन गत वर्षको सोही अवधिको १७ हजार २७२ युनिटको तुलनामा कम हो।

विद्युतीय कारको आयात पनि घटेर १० हजार ८९२ युनिटमा सीमित भएको छ, जुन गत वर्ष १३ हजार ४९२ युनिट थियो। यसबाट सरकारले १५ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

त्यसैगरी, पेट्रोल तथा डिजेलबाट चल्ने कारको आयात भने बढेर ४ हजार ५७४ युनिट पुगेको छ। तीमध्ये २ हजार ९६ युनिट अनएसेम्बल अवस्थामा भित्रिएका छन्।

दुई पांग्रे सवारी साधनतर्फ भने उल्लेखनीय वृद्धि देखिएको छ। कुल २ लाख ५० हजार १८१ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएका छन्, जुन गत वर्षको तुलनामा ६३ हजार ७५५ युनिटले बढी हो।

पेट्रोलबाट चल्ने दुई पांग्रे सवारी २ लाख २७ हजार ९४१ युनिट आयात भएका छन्, जसबाट सरकारले २८ अर्ब ९३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

त्यस्तै, विद्युतीय मोटरसाइकल तथा स्कुटरको आयात पनि बढेर २२ हजार २४० युनिट पुगेको छ, जुन गत वर्ष १० हजार ५५१ युनिट मात्र थियो। यसबाट ८० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका