नागोया । गायक अमृत गुरुङले ‘हो रामा रामा’ गीत गाउनासाथ दर्शक उल्लासित भएर चिच्याउन थाले । दर्शकको हातमा चम्किरहेका रङ्गीविरङ्गी बत्तीले हल झिलिमिली बनेको थियो । दुई घण्टा लामो कन्सर्टभर यो उत्साह निरन्तर रह्यो ।
एक साताअघि पोखरामा १० हजार हाराहारी दर्शकमाझ प्रस्तुति दिएपछि जापान पुगेको नेपथ्यले नागोयामा पहिलोपटक कन्सर्ट गर्दै न्यानो स्वागत पाएको हो । औद्योगिक सहर नागोयामा नेपाली समुदायको उल्लेख्य उपस्थिति भएकाले माहोल झन् जीवन्त बनेको थियो ।
जापानका प्रमुख सहरहरूसँग बुलेट ट्रेनले जोडिएको नागोयामा नेपथ्य हेर्नकै लागि विभिन्न ठाउँबाट दर्शक आएका थिए । सिजोउकादेखि डेढ घण्टाको यात्रा गरेर आएकी मन्जिता राई भन्छिन्, ‘पहिलोपटक कन्सर्ट हेर्दैछु, सोचेभन्दा धेरै गुणा राम्रो अनुभव भयो ।’
नागोयामा ५० भन्दा बढी नेपाली रेस्टुरेन्ट छन् र बर्सेनि नेपाल फेस्टिभल आयोजना हुन्छ । यहाँ अध्ययन र रोजगारीका लागि आएका नेपाली युवाको सक्रियता पनि बढ्दो छ । त्यस्तै, २६ वर्षीय विद्यार्थी विवेक पुरीका लागि यो कन्सर्ट पुराना सम्झना ताजा बनाउने क्षण बन्यो । ‘आठ वर्षअघि बुटवलको कालिका स्कुलमा कन्सर्ट देखेको थिएँ । आज फेरि टाढा देशमा यस्तै अनुभूति पाइयो,’ उनले भने ।
कन्सर्टभर नेपथ्यका गीतमा दर्शक समान उत्साहका साथ झुमिरहेका थिए । ‘जोगले हुन्छ भेट’ गाइँदा त उत्साह झन् बढ्यो । गायक अमृत गुरुङले दर्शकसँग निरन्तर संवाद गर्दै विदेशमा बस्दा भाषा, पहिचान र एकताको महत्व सम्झाए ।
‘यो जिन्दगानी’ गीत प्रस्तुत हुँदै गर्दा उनले स्वदेशमा स्कुल जान नपाएका केटाकेटीलाई सक्दो सहयोग गर्न आग्रह गरे । कन्सर्ट ‘रातो र चन्द्रसुर्जे’ गीतसहित सम्पन्न भयो ।
हेटौँडाकी नर्सिङ विद्यार्थी स्वस्तिका लामा भन्छिन्, ‘युट्युबमै हेर्दै आएँ, तर लाइभ कन्सर्टले त झनै नेपालीपनको अनुभूति गरायो । चार वर्षमा पहिलोपटक यस्तो जोडिएको महसुस भयो ।’
कन्सर्टमा अमृत गुरुङका साथ ड्रममा ध्रुव लामा, बेसमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी थिए ।
आयोजक टोलीका योमन देवानका अनुसार नागोयामा यति ठूलो सहभागिता र उत्साह पहिलोपटक देखिएको हो । ‘नेपथ्यसँगको अनुभव हाम्रो लागि सौभाग्य बन्यो,’ उनले भने ।
अब १४ सदस्यीय टोली राजधानी टोकियोतर्फ अघि बढ्दै छ । नेपथ्य नोभेम्बर १८ मा ‘टोकियो डोम सिटी हल’ मा प्रस्तुति दिनेछ । सात वर्षपछि ब्यान्ड त्यही हलमा दोहोर्याएर उभिन लागेको हो । त्यसपछि नोभेम्बर २४ मा ओसाका सहरमा कन्सर्ट हुनेछ ।


