Monday, July 6, 2026
Homeअर्थ र ब्यापारतेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान

तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार विद्युत्, बैंकिङ तथा बीमा, व्यापार र यातायात क्षेत्रको विस्तारले आर्थिक गतिविधि बढाउँदै समग्र आर्थिक वृद्धिलाई टेवा दिएको हो।

कार्यालयका अनुसार अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये १६ वटामा सकारात्मक वृद्धि देखिएको छ। सबैभन्दा उच्च वृद्धि विद्युत् तथा ग्यास क्षेत्रमा २४.८८ प्रतिशत रहेको छ। त्यसपछि वित्तीय तथा बीमा क्षेत्र १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७.८३ प्रतिशत तथा थोक एवं खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान गरिएको छ।

यद्यपि कृषि र उत्पादनमूलक उद्योगको सुस्त प्रदर्शनका कारण समग्र आर्थिक वृद्धि अपेक्षाकृत सीमित भएको कार्यालयले जनाएको छ। अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्र १.५८ प्रतिशतले मात्र वृद्धि भएको छ भने उत्पादनमूलक उद्योग ०.५४ प्रतिशतले खुम्चिएको छ। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र पनि १.५९ प्रतिशतले सङ्कुचित भएको तथ्याङ्कमा उल्लेख छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा गिरावट तथा केही वस्तुको स्वदेशी उत्पादन घट्नु आर्थिक वृद्धिदर अपेक्षाभन्दा कम रहनुका प्रमुख कारण हुन्। यद्यपि ऊर्जा उत्पादन र सेवा क्षेत्रको विस्तारले अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ अघि बढाउन महत्वपूर्ण योगदान दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

मौसमी प्रभाव समायोजनपछि दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र ०.५८ प्रतिशतले विस्तार भएको प्रारम्भिक अनुमान गरिएको छ।

कार्यालयले त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कले अर्थतन्त्रको अल्पकालीन अवस्था, विभिन्न क्षेत्रको आर्थिक गतिविधि तथा प्रवृत्तिबारे संकेत गर्ने भएकाले नीति निर्माण र आर्थिक विश्लेषणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका