Thursday, September 17, 2026
Homeअन्तराष्ट्रियट्रम्प–सी भेटवार्तामा एआई मुख्य एजेन्डा बन्ने

ट्रम्प–सी भेटवार्तामा एआई मुख्य एजेन्डा बन्ने

काठमाडौँ। आगामी साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वासिङ्टनमा हुने भेटवार्तामा कृत्रिम बौद्धिकता (एआई) दुई देशबीचको प्रमुख छलफलको विषय बन्ने भएको छ। दुई नेताबीचको शिखर वार्ता सेप्टेम्बर २४ मा हुने तय भएको छ।

अमेरिका र चीनबीच एआई प्रविधिको विकास, अत्याधुनिक सेमीकन्डक्टर चिप्समा पहुँच, प्रविधि हस्तान्तरण तथा एआई सुरक्षासम्बन्धी नियमलाई लिएर प्रतिस्पर्धा र मतभेद कायम छन्। दुवै देशले एआईलाई आर्थिक तथा राष्ट्रिय सुरक्षाका दृष्टिले महत्वपूर्ण प्रविधिका रूपमा लिएका छन्।

अमेरिकी अधिकारीहरूले चीनसँग एआईका साझा जोखिमबारे संवाद गर्न सकिने संकेत दिएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका चीनसँग एआईका साझा जोखिम न्यूनीकरण र दुई देशका एआई प्रणालीबीच अत्यधिक विभाजन रोक्ने विषयमा छलफल गर्न तयार रहेको बताएका छन्।

यसअघि दुवै देशका अधिकारीहरूले एआई सुरक्षासम्बन्धी छुट्टै संवाद अघि बढाउने तयारी गरेका थिए। प्रस्तावित छलफलमा एआईबाट निर्देशित साइबर आक्रमण, जोखिमको निगरानी तथा अत्याधुनिक एआई प्रणालीबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीजस्ता विषय समेटिने बताइएको थियो।

एआईसँगै अत्याधुनिक चिप्सको निर्यातसम्बन्धी अमेरिकी प्रतिबन्ध पनि दुई देशबीचको प्रमुख विवादका रूपमा रहेको छ। अमेरिकाले चीनको उन्नत एआई क्षमतामा प्रयोग हुन सक्ने केही अत्याधुनिक चिप्स तथा प्रविधिमा निर्यात नियन्त्रण लगाउँदै आएको छ। अर्कोतर्फ, चीनले स्वदेशी चिप तथा एआई प्रविधिको विकासलाई तीव्र बनाइरहेको छ।

दुई देशबीच एआई सुरक्षामा संवादको सम्भावना देखिए पनि प्रविधि विकासको गति, चिप्समा पहुँच, एआई नियमन र राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा तत्काल ठोस सहमति जुट्ने सम्भावनाबारे विश्लेषकहरूले सावधानी अपनाएका छन्।

बेसेन्टले यसै साता चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग पनि भेटवार्ता गर्ने तयारी गरेका छन्। उक्त वार्ता ट्रम्प–सी भेटवार्ताअघि एआईसहित व्यापार तथा अन्य आर्थिक विषयमा छलफलका लागि महत्वपूर्ण हुने बताइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका