Friday, September 18, 2026
Homeसामाचारबाढी प्रभावित क्षेत्रमा नेपाल भेटेरिनरी एसोसिएसनको तेस्रो चरणको राहत तथा पशु स्वास्थ्य...

बाढी प्रभावित क्षेत्रमा नेपाल भेटेरिनरी एसोसिएसनको तेस्रो चरणको राहत तथा पशु स्वास्थ्य कार्यक्रम

काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा नेपाल भेटेरिनरी एसोसिएसनले तेस्रो चरणको राहत तथा पशुपन्छी स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेको छ।

एसोसिएसनको ९ सदस्यीय टोलीले २०८३ भदौ २९ देखि ३१ गतेसम्म बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी मानवीय सहायता तथा पशुपन्छीका लागि औषधि, फिड सप्लिमेन्ट र आवश्यक उपकरण वितरण गरेको हो।

टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढीबाट पशुधनमा भएको क्षति, पशुपन्छीको उद्धार तथा उपचारको अवस्था र बाढीपछि फैलिन सक्ने सङ्क्रामक रोगको जोखिमबारे जानकारीसमेत सङ्कलन गरेको थियो।

एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीको नेतृत्वमा महासचिव डा. शंकर न्यौपाने, पूर्वअध्यक्ष डा. शीतल काजी श्रेष्ठ, सचिव डा. विशाल पोख्रेल, कोषाध्यक्ष डा. विकास श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य डा. राकेश चन्दलगायतको टोलीले स्थलगत अनुगमन तथा राहत वितरण गरेको थियो।

टोलीले रसुवाको गोसाइँकुण्ड, कालिका, उत्तरगया र नौकुण्ड, धादिङको गल्छी–देवीघाट तथा नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रमा पुगेर प्रभावित पशुपालक तथा कृषकलाई सहयोग गरेको हो। कार्यक्रममा म्याजिक मार्बल फाउन्डेसन नेपालको समेत सहभागिता थियो।

पशुपन्छीमा ठूलो क्षति

एसोसिएसनले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार रसुवा र नुवाकोट क्षेत्रमा मात्रै करिब ६०० भैँसी, १० हजार सुँगुर तथा बंगुर र करिब २ लाख व्यावसायिक फार्मका कुखुरा बाढीका कारण नष्ट भएका छन्।

ठूलो सङ्ख्यामा पशुपन्छी नष्ट हुँदा प्रभावित कृषकको आयआर्जन तथा जीविकोपार्जनमा समेत गम्भीर असर परेको एसोसिएसनले जनाएको छ।

बाढी प्रभावित पशु चिकित्सकलाई आर्थिक सहयोग

बाढीका कारण घरबारविहीन भएका एसोसिएसनका सदस्य डा. सुदिप कोइराला र डा. तुल्सिराम गम्पोका परिवारलाई एसोसिएसनले प्रतिव्यक्ति १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

यस्तै, एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीले व्यक्तिगततर्फबाट समेत दुवै सदस्यलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ सहयोग गरेका छन्।

दीर्घकालीन पुनर्स्थापना आवश्यक

बाढीले कृषकको प्रमुख आर्थिक आधारका रूपमा रहेको पशुधनमा ठूलो क्षति पुर्‍याएकाले तत्काल राहतसँगै पशुधन पुनर्स्थापना, रोग नियन्त्रण, पशु स्वास्थ्य सुरक्षा र जीविकोपार्जन पुनर्स्थापनाका दीर्घकालीन कार्यक्रम सञ्चालन गर्न एसोसिएसनले सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

अध्यक्ष डा. सुवेदीले विपद्पछि पशुपन्छीमा सङ्क्रामक रोग फैलिन सक्ने जोखिम रहेकाले प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य निगरानी, उपचार तथा रोग नियन्त्रणका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्नुपर्ने बताए।

एसोसिएसनले विपद्का बेला उद्धार, उपचार तथा राहतमा खटिएका पशु चिकित्सक, पशु स्वास्थ्य प्राविधिक, स्थानीय तह, विभिन्न संघसंस्था तथा स्वयंसेवकप्रति धन्यवाद व्यक्त गरेको छ।

एसोसिएसनका अनुसार बाढी आएको सुरुदेखि नै कान्तिपुर भेट डिष्ट्रिब्युटर्स, कान्तिपुर फार्मास्युटिकल्स, तिलिचो ट्रेडिङ, सेफ भेट फार्मा, बीएमबी भेटेरिनरी हस्पिटल तथा म्याजिक मार्बल फाउन्डेसन नेपालको सहकार्यमा प्रभावित क्षेत्रमा राहत, पशु स्वास्थ्य सेवा र आवश्यक सामग्री वितरण हुँदै आएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका