Wednesday, July 29, 2026
Homeखेलकुदटी–२० विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित

टी–२० विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित

काठमाडौँ, २३ असोजः आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी–१ मैदानमा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै प्रभावशाली जीत हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रनको प्रतिस्पर्धात्मक स्कोर तयार गर्‍यो । नेपालका ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०–२० रन जोड्दा कप्तान रोहित पौडेलले १६ रनको योगदान गरे ।

बलिङतर्फ कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई–दुई विकेट लिँदा मोहम्मद आकिफ फरुकले एक विकेट हात पारे ।

१४२ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत १८.१ ओभरमै सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो । उसका ओपनर क्लिन्टो आन्टोले २६ र यासिन पटेलले १९ रन बनाए ।

नेपालका बलरहरू उत्कृष्ट प्रदर्शन गर्दै चम्किए — सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट हात पारे ।

यस जितसँगै नेपालले समूह ‘बी’मा पहिलो खेलमै सानदार सुरुवात गरेको छ । अब नेपालले समूह चरणको दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका