काठमाडौं । जापानको राजधानी टोकियोसँग जोडिएको चिबा प्रान्तमा बिहीबार राति एक घण्टामै ११५ मिलिमिटर वर्षा भएको छ। यो परिमाण सामान्यतया अगस्ट महिनाभरि पर्ने वर्षाको हाराहारीमा रहेको बताइएको छ।
अत्यधिक वर्षापछि चिबाका विभिन्न क्षेत्रमा बाढी र पहिरो गएको छ। बाढी तथा पहिरोमा परी हालसम्म चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
भीषण वर्षाका कारण नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ७ हजार यात्रु रातभर अलपत्र परेका छन्। त्यस्तै, ४ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ।
स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै जापान मौसम विज्ञान एजेन्सीले पहिलोपटक उक्त क्षेत्रमा ‘लेभल–५’ को उच्चतम सतर्कता जारी गरेको छ। तत्काल जीवनमा गम्भीर खतरा उत्पन्न हुन सक्ने अवस्थामा जारी गरिने यो जापानको सर्वोच्च तहको मौसम चेतावनी हो।
मौसम विज्ञान एजेन्सीका अनुसार तातो र ओसिलो हावा माथिबाट आएको चिसो हावासँग मिसिएपछि वायुमण्डलमा तीव्र अस्थिरता उत्पन्न हुँदा छोटो समयमै अत्यधिक वर्षा भएको हो। शुक्रबार रातिसम्म वर्षा जारी रहन सक्ने चेतावनीसमेत दिइएको छ।
लगातारको वर्षाका कारण धेरै क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ। करिब ४५ हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको बताइएको छ। राहत तथा उद्धार कार्यलाई तीव्र पार्दै प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न जापानको सेल्फ–डिफेन्स फोर्सेससमेत परिचालन गरिएको छ।
इचिकावा सहरमा बाढीले डुबेको सडकबाट ६० देखि ७० वर्ष उमेर समूहका एक पुरुषको शव फेला परेको छ। सकुरा सहरमा ६६ वर्षीया महिलाको कार बाढीमा फसेपछि उनको मृत्यु भएको बताइएको छ। अन्य दुई जनाले पनि बाढीका क्रममा कारबाट बाहिर निस्कन नसक्दा ज्यान गुमाएको प्रारम्भिक विवरण छ।
चिबाका गभर्नर तोसिहितो कुमागाईले शुक्रबार बिहान स्थिति अत्यन्तै गम्भीर रहेको बताएका छन्। उनले आफ्नो जीवनमा धेरै प्राकृतिक विपत्ति देखे पनि यस्तो अवस्था पहिले कहिल्यै नदेखेको उल्लेख गरे।
गभर्नर कुमागाईले मानिसको जीवन जोगाउनु प्रशासनको पहिलो प्राथमिकता रहेको बताउँदै उद्धार अभियान निरन्तर जारी रहने जानकारी दिए। शुक्रबार वर्षाको तीव्रता केही घटे पनि बाढी र पहिरोको जोखिम कायमै रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयका अधिकारी काजुहितो सिमामोटोले बाढीको उच्च जोखिम भएका क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनको स्थानान्तरण आदेश पालना गर्न आग्रह गरेका छन्। उनले जोखिम बढ्नुअघि नै सुरक्षित स्थानमा जान अपिल गरेका छन्।
मौसम विशेषज्ञहरूले जलवायु परिवर्तनका कारण जापानमा अत्यधिक वर्षा र अन्य चरम मौसमी घटनाको जोखिम बढिरहेको बताएका छन्। पछिल्लो समय जापानका विभिन्न क्षेत्रमा लगातार खराब मौसमका कारण कीर्तिमानी वर्षा, पहिरो र बाढीको अवस्था सिर्जना भएको छ।
यसका कारण ओकिनावादेखि टोकियोसम्मको जनजीवन प्रभावित भएको छ। विभिन्न स्थानमा उडान रद्द भएका छन् भने हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।


