वीरगञ्ज: छठ पर्वसँग सम्बन्धित लोकगीत गाएर लोकप्रियता कमाएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ। नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत ७२ वर्षीया गायिका सिन्हाको मंगलबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भोजपुरी र मैथली भाषामा गाउन ख्याती प्राप्त गरेकी सिन्हाका लोकगीतहरू भारत र नेपालका श्रोतामाझ अत्यन्त लोकप्रिय छन्। छठ पर्वसँग सम्बन्धित ‘डोमिनी बेटी सुप लेले ठार छे’, ‘अँगना में पोखरी खनाइब, छठी मैया आइथिन आज’, ‘मोरा भैया गैल मुंगेर’ जस्ता गीतहरूले लोकगीत पारखीहरूको मन जितेका छन्।
वीरगञ्जका कलासाहित्य अनुरागीहरू पनि लोकगायिका सिन्हाको निधनले स्तब्ध भएका छन्। नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले सिन्हालाई भोजपुरी गीतका उज्यालो नक्षत्रका रूपमा स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरे।
‘सिन्हाले लोकआस्थाको पर्व छठको गीतलाई आफ्नो मधुर आवाजमा जनस्तरसम्म पुर्याउनुभएको छ। उहाँका छठ गीतहरू अहिले पनि वीरगञ्जका छठ घाटहरूमा गुञ्जिरहेका छन्,’ उपाध्यायले भने, ‘लोकगायिका सिन्हाले भोजपुरी मात्र नभई हिन्दी गीतहरू पनि गाउनुभएको छ।’
उपाध्यायले सिन्हाको निधनले भोजपुरी कला र साहित्य क्षेत्रले ठूलो क्षति बेहोरेको उल्लेख गरे। ‘सिन्हा जस्तो लोककलाकार पाउन भोजपुरी कला र साहित्य क्षेत्रले अझै धेरै समय कुर्नुपर्नेछ,’ उनले भने, ‘गीत, साहित्य र सङ्गीतले भूगोल र सीमालाई मान्दैन। उहाँको निधनले हामीलाई मर्माहत बनाएको छ।’
सिन्हाको जन्म भारतको बिहार राज्यमा भएको थियो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य तथा नेपाल भोजपुरी समाजका सहसचिव अजमत अली अन्सारीले सिन्हाको निधनले भोजपुरी गीतले एक महान श्रष्टा गुमाएको बताए।
‘भारतीय हिन्दी गीत-सङ्गीतमा जसरी लता मङ्गेशकरलाई चिनिन्छ, भोजपुरी गीतमा शारदा सिन्हाको नाम त्यस्तै आदरका साथ लिइन्छ,’ उनले भने, ‘सिन्हाले छठका गीतमार्फत ख्याति कमाउनुभएको हो। छठ पर्वकै समयमा उहाँको निधनले हामीलाई स्तब्ध बनाएको छ।’
लोकगायिका सिन्हाले भारतको प्रतिष्ठित पद्मश्री र पद्मभूषण सम्मानसमेत प्राप्त गरेकी थिइन्। उनका एक छोरा र एक छोरी छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जाल ‘एक्स’ मा सिन्हाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।