काठमाडौं : नेपालले फिफा विश्वकप छनोट खेलमा प्रभावशाली जित निकालेको छ। अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली छनोट र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको हो।
कुवेतको राजधानी कुवेत सिटीमा बिहीबार भएको खेलमा नेपालले सुरुवातदेखि नै आक्रामक खेल खेलेको थियो। नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले तीन स्ट्राइकर खेलाएका थिए। नेपालले चौथो मिनेटमा नै अग्रता लिएको थियो। अञ्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएका थिए। नेपालले तेस्रो मिनेटमा नै पेनाल्टी पाएको थियो। सन्तोष तामाङको फ्रिकिकमा चाइनिज चाइपेईका खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो। जसलाई अञ्जनले सदुपयोग गरेका थिए। नेपालले दुई वर्ष अघि चाइनिज ताइपेईलाई उसैको घरेलु मैदानमा २–० गोलले पराजित गर्दा दुवै गोल अञ्जनले नै गरेका थिए।
पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि खेलमा पक्कड बनाएको थियो। विपक्षी पोस्ट्मा लगातार आक्रमण बुनेको नेपालले ८१औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो। केही मिनेटअघि मात्र मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–० को जित दिलाए। सुमन अर्यालले उपलब्ध गराएको पासमा नवयुगले बललाई जाली चुमाएका थिए।
कोरोना महामारीका कारण यसअघि पटकपटक स्थगित हुँदै आएको विश्वकप छनोटको खेल न्युट्रल भेन्यु कुवेतमा खेलाइएको हो। नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेलहरू कोरोना महामारीका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले सेन्ट्रल भेन्युका रूपमा कुवेतमा खेलाएको हो।
विश्वकप छनोटअन्तर्गत नेपालले आठ खेलमध्ये ६ खेल खेलिसकेको छ। नेपालले कुवेतसँगको पहिलो खेलमा ७–० र दोस्रो खेलमा १–० गोलले हार बेहोरेको थियो। नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो। नेपालले चाइनिज ताइपेईलाई मात्र दुवै लेगको खेलमा पराजित गर्न सकेको छ। नेपालले अब जुन ७ मा जोर्डन र जुन ११ मा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्नेछ।
अहिले समूह ‘बी’मा १२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ। कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो स्थानमा छ। नेपाल ६ अंकसहित चौथो र अंक जोड्न नसकेको चाइनिज ताइपेई पुछारमा छ। यस जितसँगै विश्वकप छनोटको अघिल्लो चरणमा पुग्ने नेपालको सम्भावना गणितीय हिसाबमा बाँकी छ। तर, सन् २०२३ मा हुने एसियन कपमा सिधै छनोट हुने सम्भावना भने बलियो बनाएको छ। नेपाल समूहमा चौथो स्थानमै रहन सकेमा एसिया कपका लागि सीधै छनोट हुनेछ। अन्नपूर्णबाट